
Ground Zero
June 28, 2026

नेपालीमा एउटा उखान छ—’१२ वर्षमा खोला पनि फर्किन्छ। हो, चन्द्रागिरिको डाँडामा एउटा शक्तिशाली व्यापारीले चलाएको वातावरणीय र आर्थिक डकैतीको खोला पनि ठीक १२ वर्षपछि फर्किएको छ !
हिजोसम्म कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूलाई आफ्नो रिसोर्टमा सित्तैमा बास बसाएर, रिझाएर, कानुनलाई खल्तीमा हाल्ने चन्द्र ढकालको साम्राज्यमा पहिलो पटक सरकारी कम्पन्न सुरु भएको छ। हिजो शक्तिको आडमा राज्यलाई झुक्याइयो, पर्यावरणको धज्जी उडाइयो। तर, जब ‘ग्राउण्ड जिरो’ ले लगातार ९ वटा सिरिजमार्फत स्टोरी सर्वाजनिक गर्यो र देशको राजनीतिक नेतृत्वमा बालेन शाह प्रधानमन्त्रीका रूपमा उदाए, तब १२ वर्षदेखि कुम्भकर्ण निद्रामा सुतेको वन तथा भू-संरक्षण विभाग ब्युँझिन बाध्य भएको छ।
सम्झौता भएको १२ वर्षसम्म आँखा चिम्लेको प्रशासनले अन्ततः मिति २०८३ असार ३ गते चन्द्रागिरि केबलकार अर्थात् काठमाडौँ फन पार्क प्रा.लि. माथि छानबिन र अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ।
टहरा बनाउने अनुमति लिएर पाँचतारे होटल ठड्याउने चन्द्र ढकालको दादागिरीमाथि अब सरकारी डण्डा चल्ने कि नचल्ने ? आज हामी यही सरकारी पत्रको भित्री रहस्य र चन्द्र ढकालका ५ वटा ठूला अपराधको फेहरिस्त खोल्नेछौँ ।
पर्यावरणमैत्री टहराको नाममा कंक्रिटको महल
चन्द्रागिरि डाँडाको ३६ हेक्टर सार्वजनिक वन क्षेत्र हो। सार्वजनिक वन क्षेत्रमा निजी संरचना बनाउन पाइँदैन। तर, २०७१ सालमा चन्द्र ढकालले केबलकार र केबलकारसँगै आउने पर्यटकका लागि केवल २० देखि ३० वटासम्म ‘प्राकृतिक मैत्री टहरा’ (Eco-friendly cottages) बनाउने भन्दै सरकारसँग सम्झौता गरे। पर्यावरणलाई क्षति नपुर्याउने सर्तमा यो अनुमति दिइएको थियो।
तर, जब निर्माण सुरु भयो, चन्द्र ढकालले राज्यलाई सिधै झुक्याए। टहराको ठाउँमा अर्बौँको महँगो पाँचतारे डिलक्स होटल ठड्याइयो। रुख कटान गरियो, डाँडो खनियो। हिजोका प्रधानमन्त्री र वन मन्त्रीहरू यही होटलमा डिल गर्न पुगे, त्यसैले १२ वर्षसम्म कसैले औँला उठाएनन्।
एउटाको स्वीकृति, दोस्रो केबलकारको खेती
चन्द्र ढकालको लुट कतिसम्म निर्लज्ज छ भन्ने प्रमाण यो हो कि, सरकारसँग एउटा केबलकार निर्माण गर्ने र सोही अनुसार वातावरणीय प्रभाव मूल्यांकन (EIA) गर्ने सम्झौता भएको थियो। तर, ढकालले राज्य र वन विभागलाई कुनै जानकारी नै नदिई, कानुनलाई लत्याउँदै सार्वजनिक वन क्षेत्रभित्रै दोस्रो केबलकारको निर्माण कार्य अगाडि बढाए। के चन्द्रागिरिको वन चन्द्र ढकालको दाइजो हो, जहाँ उनले विना अनुमति जे मन लाग्यो त्यही संरचना थप्न पाउँछन् ?
भगवानको नाममा व्यापार: नक्कली मन्दिर र भेटी लुट
चन्द्रागिरिमा धार्मिक आस्थामाथि सबैभन्दा ठूलो प्रहार गरिएको छ। चन्द्रागिरि डाँडामा परापूर्वकालदेखि रहेको वास्तविक र ऐतिहासिक भालेश्वर महादेवको मन्दिरलाई नियोजित रूपमा ओझेलमा पारियो। र, आफ्नो व्यापार चलाउन, मान्छे तान्न चन्द्र ढकालले अलि माथि ‘नक्कली भालेश्वर महादेव’ को मन्दिर खडा गरे।
धार्मिक आस्थालाई पैसा छाप्ने मेसिन बनाइयो। यति मात्र होइन, मन्दिरमा देश-विदेशका लाखौँ भक्तजनले चढाउने करोडौँको भेटी र दान-दक्षिणा सिधै चन्द्र ढकाल र उनको कम्पनीको प्राइभेट बैंक खातामा दाखिला हुने गरेको छ। कानुनतः धार्मिक स्थलको भेटी सार्वजनिक गुठी वा स्थानीय विकासमा खर्च हुनुपर्छ। तर यहाँ भगवानको भेटीमाथि पनि एउटै व्यापारीको एकाधिकार छ।
५ हेक्टरको सम्झौता, ६ हेक्टरमा कब्जा
२०७१ साल वैशाख १२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार काठमाडौँ फन पार्क प्रा.लि. ले जम्मा ३६ हेक्टरमध्ये केवल ५ हेक्टर वन क्षेत्रमा मात्र भौतिक संरचना बनाउन पाउने र त्यहाँका १६० वटा रुख मात्र हटाउन पाउने स्पष्ट लिखित सर्त थियो। तर ‘ग्राउण्ड जिरो’ को स्थलगत अनुसन्धानले देखाउँछ— ढकालले सम्झौताको सिमा नाघेर ६ हेक्टरभन्दा बढी जमिन मिचेका छन् र सम्झौता विपरीत सयौँ रुखहरू सखाप पारेका छन्।
सरकारी पत्रको नालीबेली: बालेन युगको पहिलो प्रहार !
हिजो कांग्रेस, एमाले र माओवादीका नेताहरूको फेरो समातेर बच्दै आएका चन्द्र ढकाललाई यसपटक भने राजनीतिक संरक्षण पाउन गाह्रो भएको छ। देशमा बालेन शाह प्रधानमन्त्री बनेपछि र ‘ग्राउण्ड जिरो’ ले ९ वटा सिरिजमार्फत प्रमाणहरू जनताको अदालतमा राखेपछि, वन विभागले कडा कदम चालेको छ।

समितिको संरचना र ‘स्वार्थको द्वन्द्व’
यो समितिको बुँदा नम्बर ‘ङ’ लाई ध्यान दिएर हेर्नुस्। त्यहाँ लेखिएको छ— ‘सम्बन्धीत आयोजनाको प्रतिनिधि : सदस्य’। अर्थात्, जसको लुटको छानबिन हुँदैछ, जो अभियुक्त हो, उसैको मान्छे यो समितिमा सदस्य छ ! चन्द्र ढकालको आफ्नै मान्छे बसेर गर्ने छानबिनले कसरी न्याय देला ? गाई खाने बाघलाई नै गोठालो बनाएर वनको रक्षा कसरी सम्भव छ ? यो वन विभागको कस्तो नियत हो ?
थप स्टोरी
EXCLUSIVE : चन्द्र ढकालको चन्द्रागिरि खेल: ‘टहरा’ बनाउने अनुमति लिएर सरकारी वनमा पाँचतारे होटल
EXCLUSIVE-2 : टहराको सम्झौतामा पाँचतारे होटल-२० लाख तिरेर चन्द्र ढकाललाई उन्मुक्ति
चन्द्रागिरिको डाँडामा चन्द्र ढकालको ‘नक्कली’ भालेश्वर मन्दिर: इतिहासमाथि जालसाजी ?
EXCLUSIVE-3 :चन्द्रागिरि घोटाला काण्ड : संसदीय टोली नै बिकेको पूर्व महालेखापरीक्षकको खुलासा !
झलनाथदेखि केपी ओलीसम्म: चन्द्र ढकालको स्वार्थका लागि ६ वटा सरकारले कसरी पालैपालो घुँडा टेके ?
अब संरचना भत्काइयोस् !
तर अब देशमा राजनीतिक परिस्थिति बदलिएको छ। प्रधानमन्त्रीको कुर्सीमा बालेन शाह छन् । त्यसकारण यसपछि त्यस्तो ‘बन्द खाम’ को धन्दा चल्ने छैन। हामी यो नवगठित समितिलाई भन्न चाहन्छौं — यो समितिले गर्ने एक-एक कामको, उनीहरूले चाल्ने एक-एक कदमको र उनीहरू चन्द्रागिरि पुगेर गर्ने अनुगमनको ‘ग्राउण्ड जिरो’ ले सूक्ष्म फलोअप गर्नेछ। यदि यसपटक पनि प्रतिवेदन सामसुम पार्न खोजियो भने, कुन अधिकारीले कति बुझ्यो, त्यो हामी जनताको माझमा ल्याउनेछौँ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।