Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

सोमबार, १८ जेठ २०८३

चन्द्रागिरिको डाँडामा ‘धर्मको व्यापार’: मन्दिरको भेटीमा चन्द्र ढकालको एकलौटी ?

Subhak Mahato

June 1, 2026


चन्द्रागिरि डाँडा, जहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्य देखिन्छ । पछिल्लो समय केवलकार र पर्यटनको पर्याय बनेको छ। तर, यो सुन्दरताको पर्दापछाडि एउटा यस्तो विवाद लुकेको छ, जसले धर्म, व्यापार र राजनीतिबीचको अपवित्र गठबन्धनलाई उजागर गर्छ। यो कथा हो— ऐतिहासिक भालेश्वर महादेवको अस्तित्व संकटको र भक्तजनले श्रद्धापूर्वक चढाएको भेटीमाथि एक व्यापारिक घरानाले गरिरहेको ‘कब्जा’को

सक्कली र नक्कलीको द्वन्द्व: कहाँ हरायो इतिहास ?
चन्द्रागिरि डाँडामा भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा अन्तिम ‘भालय’ (निधार) पतन भएको विश्वास गरिन्छ। यही विश्वासका कारण यहाँ परापूर्वकालदेखि एउटा सानो मन्दिर र शिला थियो, जसलाई स्थानीयहरू ‘सक्कली भालेश्वर’ मान्छन्।
तर, जब चन्द्र ढकालको नेतृत्वमा चन्द्रागिरि हिल्सले त्यहाँ केवलकार र रिसोर्ट निर्माणको परियोजना सुरु गर्यो, तब धार्मिक आस्थालाई ‘व्यापारिक ब्राण्डिङ’मा बदलियो। स्थानीयहरूको आरोप छ कि ढकालले आफ्नो व्यवसायिक स्वार्थका लागि पुरानो ऐतिहासिक मन्दिरलाई ओझेलमा पारेर, मानिसहरूको आवतजावत हुने मुख्य ठाउँमा नयाँ भव्य मन्दिर निर्माण गरे। आज हजारौं पर्यटकले जुन मन्दिरमा ढोग्छन्, त्यो ऐतिहासिक होइन, बरु केवलकारको टिकट बिक्री बढाउन बनाइएको एउटा ‘नक्कली’ संरचना मात्र।

वार्षिक २ करोडको भेटी: कहाँ जान्छ पैसा ?
चन्द्रागिरिमा दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक पुग्छन्। मन्दिरमा भक्तजनहरूले चढाउने भेटी, दान र दक्षिणाको राशी निकै ठूलो छ। अनुमानित तथ्याङ्क अनुसार, वार्षिक रूपमा २ करोड रुपैयाँभन्दा बढी भेटी संकलन हुन्छ।
तर, विडम्बना के छ भने यो भेटी न राज्यको कोषमा जान्छ, न त कुनै स्थानीय गुठीमा । यो सिधै चन्द्रागिरि हिल्सको खातामा वा चन्द्र ढकालको निजी तजबिजमा खर्च हुने गरेको छ। सार्वजनिक जग्गामा व्यवसाय सञ्चालन गरेर बसेको कम्पनीले मन्दिरको भेटीमाथि पनि निजी स्वामित्व जमाउनु ‘धार्मिक ठगी’ भएको स्थानीयहरूको तर्क छ।
स्थानीय बासिन्दा सुदर्शन पन्त-हाम्रा पुर्खाहरूले पूजा गर्दै आएको देउतालाई अहिले व्यापारको साधन बनाइयो। भक्तजनले श्रद्धाले चढाएको एक–एक पैसा चन्द्र ढकालको गोजीमा जान्छ। के भगवानको भेटी कुनै निजी लिमिटेडको नाफा हो र ? यो त राज्यको सम्पत्ति हुनुपर्ने हो ।

राज्यको मौनता र चन्द्र ढकालको ‘पावर’
चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन्, ग्लोबल आईएमई बैंकका सञ्चालक हुन् र राज्यका उच्च पदस्थ व्यक्तिहरूसँग उनको उठबस छ। सायद यही शक्ति र पहुँचका कारण आजसम्म कुनै पनि नियामक निकायले चन्द्रागिरिको भेटीबारे प्रश्न उठाउने आँट गरेका छैनन् ।
पशुपतिनाथ होस् वा मनकामना, ठूला धार्मिक स्थलहरूको भेटी व्यवस्थापनका लागि छुट्टै कोष वा समिति हुन्छ। तर, चन्द्रागिरिमा ‘कानुन’ भन्दा ‘ चन्द्र ढकाल ‘को शासन चल्ने गरेको देखिन्छ। केवलकार सञ्चालनमा आएदेखि अहिलेसम्म एक रुपैयाँ पनि भेटीबापतको रकम सरकारी राजस्वमा जम्मा गरिएको छैन।

चन्द्रागिरि नगरपालिकाको निरीहता
मन्दिर जुन भूगोलमा अवस्थित छ, त्यसको व्यवस्थापन र अनुगमन गर्ने पहिलो दायित्व स्थानीय सरकारको हो। तर, चन्द्रागिरि नगरपालिका यस विषयमा लामो समयदेखि मौन वा निरीह देखिन्छ। “हामीले यो विषयमा पटक–पटक कम्पनीसँग छलफल गर्न खोजेका छौं। सार्वजनिक जग्गा र धार्मिक सम्पत्तिको रक्षा गर्नु हाम्रो दायित्व हो। तर, कानुनी जटिलता र केही प्रक्रियागत अन्योलले गर्दा भेटीलाई सरकारी दायरामा ल्याउन सकिएको छैन। हामी छिट्टै एउटा पारदर्शी संयन्त्र बनाउने तयारीमा छौं।”
यो ‘तयारीमा छौं’ भन्ने वाक्यांशले नै प्रष्ट पार्छ कि राज्यको एउटा निकाय निजी स्वार्थ अगाडि कति कमजोर छ।

धार्मिक आस्थामाथिको ‘झ्वाम’ संस्कार
चन्द्र ढकालले चन्द्रागिरिलाई एक सफल पर्यटकीय गन्तव्य त बनाए, तर उनले त्यसका लागि प्रयोग गरेको ‘धार्मिक कार्ड’ भने अहिले विवादको घेरामा छ। मन्दिरको नाममा व्यापार गर्ने, तर मन्दिरकै भेटी राज्यलाई नतिर्ने प्रवृत्तिले शक्तिशाली व्यवसायी र राजनीतिज्ञको मिलोमतोको नग्न स्वरूप प्रस्तुत गर्छ।
ऐतिहासिक भालेश्वरको शिलालाई ओझेलमा राखेर नयाँ संरचनालाई मात्र प्रचार गर्नुले हाम्रो पुरातात्विक वैभवलाई मेटाउने काम गरेको छ। भक्तजनहरूले चढाएको पैसाले मन्दिरको विकास, स्थानीय क्षेत्रको सुधार वा सरकारी शिक्षा–स्वास्थ्यमा लगानी हुनुपर्नेमा, त्यो पैसा व्यक्तिको निजी साम्राज्य विस्तारमा प्रयोग हुनु दुःखद छ।

थप स्टोरीहरु :
EXCLUSIVE : चन्द्र ढकालको चन्द्रागिरि खेल: ‘टहरा’ बनाउने अनुमति लिएर सरकारी वनमा पाँचतारे होटल
EXCLUSIVE-2 : टहराको सम्झौतामा पाँचतारे होटल-२० लाख तिरेर चन्द्र ढकाललाई उन्मुक्ति
चन्द्रागिरिको डाँडामा चन्द्र ढकालको ‘नक्कली’ भालेश्वर मन्दिर: इतिहासमाथि जालसाजी ?
महालेखाको प्रतिवेदनले खोलेको चन्द्रागिरि काण्ड – भन्सारमा सेटिङ : राज्यलाई ६ करोड २६ लाख घाटा
राजनीतिक लगानी र ‘सेटिङ’को चक्रव्यूह—चन्द्र ढकालको कब्जामा चन्द्रागिरिदेखि पाथीभारासम्म
टहराको अनुमति लिएर पाँचतारे होटल, अब दोस्रो केवलकार धमाधम निर्माण

चन्द्र ढकालको प्रतिक्रिया
भालेश्वर महादेवको मन्दिरको भेटी चन्द्र ढकालले कब्जा गर्दै आएको विषयमा ग्राउण्ड जिरोले प्रतिक्रिया लिन खोज्यो । तर, चन्द्र ढकाल सम्पर्कमै आउन चाहेन ।

अबको बाटो के ?
चन्द्रागिरिको यो ‘भेटी काण्ड’ केवल पैसाको कुरा मात्र होइन, यो विधिको शासन र धार्मिक मर्यादाको प्रश्न पनि हो। के कुनै पनि व्यापारीलाई सार्वजनिक र धार्मिक सम्पत्तिमाथि रजाइँ गर्ने छुट छ ?
– पारदर्शी छानबिन: चन्द्रागिरि हिल्सले अहिलेसम्म संकलन गरेको भेटीको स्वतन्त्र लेखापरीक्षण हुनुपर्छ ।
– कोषको स्थापना: पशुपति क्षेत्र विकास कोष जस्तै चन्द्रागिरि भालेश्वरका लागि पनि स्थानीय सरकार, सरोकारवाला र गुठियार सम्मिलित एक स्वायत्त समिति बन्नुपर्छ।
– ऐतिहासिक संरक्षण: नक्कली चकाचौधभन्दा माथि उठेर वास्तविक र ऐतिहासिक भालेश्वर मन्दिरको संरक्षण र प्रवर्द्धन गरिनुपर्छ।
चन्द्र ढकालले बुझ्नुपर्छ कि व्यापारमा नाफा कमाउनु जायज हो, तर धर्म र आस्थाको ‘भेटी’ झ्वाम पार्नु अनैतिक मात्र होइन, कानुनी अपराध पनि हो। अब स्थानीय जनता र सचेत नागरिकले सोध्ने बेला आएको छ— “हाम्रो महादेवको भेटी खोई ?”

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।