
Ground Zero
November 26, 2026

अछाम जिल्लाको साँफेबगर नगरपालिकामा ३ करोड ४४ लाख ८९ हजार ३७ रुपैयाँ अनियमितता भएको छ भने प्रमाण तथा कागजात नै पेश नगरेर ५ करोड २४ लाख ७७ हजार ४९ रुपैयाँ झ्वाम पारेका छन् ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुमा यस वर्ष ८ करोड ८८ लाख ६० हजार रुपैयाँ थपिएपछि कुल अद्यावधिक बेरुजु ४२ करोड १८ लाख ७९ हजार रुपैयाँ पुगेको छ।
नगरपालिकाको १ अर्ब ७३ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन, आर्थिक कार्यविधि र खरिद नियमावलीको गम्भीर उल्लङ्घन भएको पाइएको छ।
संघीय मामिला मन्त्रालयको कार्यविधि विपरीत स्वीकृत दरबन्दी बाहेक खेलकुद प्रशिक्षक, सहजकर्ता, अहेव र ल्याब असिस्टेन्टसहित २३ जना करार कर्मचारी नियुक्त गरी ५३ लाख ३६ हजार रुपैयाँ तलब-भत्ता बाँडिएको छ।
शिक्षा क्षेत्रमा आएको सशर्त र कार्यसम्पादन अनुदानमा विद्यालयहरूको प्रस्तावना र अनुगमन प्रतिवेदनबिना नै ३० लाख रुपैयाँ बाँडिएको छ भने कक्षा ८ को अतिरिक्त कक्षा सञ्चालनमा प्रदेश विशेष अनुदानको सट्टा संघीय बजेटबाट ३ लाख १ हजार रुपैयाँ खर्च गरिएको छ।
नयाँ बाख्रा पकेट विकास कार्यक्रममा ११ लाख रुपैयाँ खर्च गरिए पनि कृषकहरूसँगको लागत साझेदारी र सम्झौतापत्र पेस गरिएको छैन। तालिम शीर्षकको बजेटबाट मोटरसाइकल मर्मत र फोहोर उठाउने ट्याक्टर चालकलाई विगतको बक्यौता भन्दै २ लाख २ हजार रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी गरिएको छ।
स्वास्थ्य शाखाको तलब शीर्षकबाट ७ लाख २१ हजार रुपैयाँको मसलन्द सामान र २ लाख २३ हजार रुपैयाँका काठका दराजहरू खरिद गरिए पनि तिनको स्टोर दाखिला गरिएको छैन। मेलमिलापकर्ताको तालिममा १० लाख १४ हजार रुपैयाँ र कृषि बिउबिजन खरिदमा कृषकको वितरण भरपाइबिना नै २ लाख ९८ हजार रुपैयाँ उडाइएको छ।
नाफामूलक सहकारी संस्थालाई व्यवस्थापन तालिमका लागि ४ लाख रुपैयाँ अनुदान दिइएको छ भने सातौँ साँफेबगर महोत्सव आयोजना गर्न प्रस्तावना र सम्झौताबिना नै मूल आयोजक समितिलाई १० लाख रुपैयाँ भुक्तानी गरिएको छ।
खुला भलिबल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्दा कार्यविधि तथा निर्णयबिना नै विजेताहरूलाई नगद पुरस्कार र व्यवस्थापनका नाममा १४ लाख ६९ हजार रुपैयाँ स्वाहा पारिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको वृत्तचित्र निर्माणमा ३ लाख ९५ हजार रुपैयाँ खर्च गरिए पनि प्रसारणको कुनै प्रमाण पेस गरिएको छैन।
इन्धनको खर्च अनुगमन शीर्षकबाट रकमान्तर गरी गरिएको छ भने निर्माण कार्यमा तोकिएको ४ प्रतिशतको सीमा नाघेर ६.१२ प्रतिशत अर्थात् २४ लाख ६६ हजार रुपैयाँ कन्टिन्जेन्सी खर्च गरर त्यसबाट बैठक भत्ता, खाना-खाजा र सवारी साधन मर्मत गरिएको छ। पुँजीगत बजेटबाटै चालु प्रकृतिका बैठक भत्ता र स्टेशनरी खरिद गरी ३ लाख ५६ हजार रुपैयाँ दुरुपयोग गरिएको छ। राज्यको स्रोत र सार्वजनिक सम्पत्तिमाथि भएको यो मनपरीले स्थानीय तहमा वित्तीय अनुशासनको खिल्ली उडाएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।