Skip to main content
बुधबार, ०९ मंसिर २०८३

रुपन्देहीको रोहिणी गाउँपालिकामा २ करोड ७ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 24, 2026


रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकामा २ करोड ७ लाख ५७ हजार ३ सय ४१ रुपैयाँको अनियमितता गरेको छ भने प्रमाण तथा कागजात पेश नै नगरेर १२ लाख ३४ हजार ६ सय ४० रुपैयाँ खर्च गरेको छ ।

महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुबाट केही सम्परीक्षण भएपछि हाल कुल अद्यावधिक बेरुजु २७ करोड ८१ लाख २१ हजार रुपैयाँ पुगेको छ।

गाउँपालिकाको १ अर्ब ३५ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र खरिद नियमावलीको गम्भीर उल्लङ्घन भएको पाइएको छ।

लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवा ऐनविपरीत स्रोतको सुनिश्चितता र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबिना नै इन्जिनियर, असिस्टेन्ट सब-इन्जिनियर, अनमी र ल्याब असिस्टेन्टजस्ता पदमा १३ जना करार कर्मचारी राखेर ६५ लाख ५७ हजार रुपैयाँ तलब भत्ता बाँडिएको छ।

त्यस्तै, आर्थिक कार्यविधि ऐनको धज्जी उडाउँदै छुट्टै बजेट र अस्तित्व भएका अन्य निकायका लागि १६ लाख ५६ हजार रुपैयाँ गैरकानुनी रूपमा खर्च गरिएको छ।

कानुनमा व्यवस्थै नभए पनि विभिन्न वडा कार्यालय सञ्चालन तथा धार्मिक-सांस्कृतिक संरक्षणका नाममा जनप्रतिनिधिहरू आफैँले पेस्की लिएर र फछ्र्योट गराएर ८ लाख ५५ हजार रुपैयाँ खर्च गरेका छन्।

बहुवर्षीय खरिद र विशेष परिस्थिति बाहेकका खाद्यान्न, किराना सामान खरिद र आर्थिक सहायताजस्ता चालु प्रकृतिका खर्चहरूमा गत वर्षको भुक्तानी बाँकी भन्दै ६४ लाख ८६ हजार रुपैयाँ यस वर्ष गैरकानुनी रूपमा भुक्तानी गरिएको छ।

सार्वजनिक खरिद ऐनको उल्लङ्घन गर्दै सेन्सर लाइट, विद्युतीय पोल, तार र स्प्रे ट्यांकी खरिदमा प्रतिस्पर्धा सीमित गर्न टुक्रा-टुक्रा पारेर ५२ लाख १ हजार रुपैयाँ खर्च गरिएको छ। सार्वजनिक स्रोत र राज्यको कोषमाथि भएको यो मनपरी र कानुनी उल्लङ्घनले स्थानीय तहमा वित्तीय अनुशासनको खिल्ली उडाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।