Skip to main content
बुधबार, ०९ मंसिर २०८३

अछामको मेल्लेख गाउँपालिकामा २ करोड ९ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 24, 2026


अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा २ करोड ९ लाख २९ हजार ४३ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात नै पेश नगरेर ५ करोड १० लाख १४ हजार १ सय २६ रुपैयाँ झ्वाम पारेका छन् । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुमा यस वर्ष ७ करोड ४८ लाख रुपैयाँ थपिएपछि कुल अद्यावधिक बेरुजु २४ करोड ९६ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

गाउँपालिकाको १ अर्ब २७ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र खरिद नियमावलीको व्यापक धज्जी उडाएको पाइएको छ।

सूचना प्रकाशनमा साइज र दररेट बेगर अछाम मिडिया नेटवर्कलाई १ लाख ४६ हजार एकमुष्ट भुक्तानी गरिएको छ। सवारी साधन भाडामा लिँदा सार्वजनिक खरिद नियमावली विपरीत लगबुक, कार्यादेश र प्रयोजनसमेत नखुलाई पदाधिकारीहरूको भ्रमणमा ५ लाख ३१ हजार रुपैयाँ उडाइएको छ।

त्यस्तै, गैरसरकारी संस्थाहरूबाट तालिम सञ्चालन गर्दा सूचना प्रकाशन नगरी र प्रतिस्पर्धा सीमित गरी ११ लाख ९० हजार खर्च गरिएको छ भने मेलमिलापकर्ता तालिममा आवश्यक कार्यपत्र र कार्यतालिकाबिना नै ३ लाख २१ हजार रुपैयाँ भुक्तानी दिइएको छ।

भलिबल खेल सञ्चालनका लागि क्लबको बैंक खातामा NBT मार्फत पठाउनुपर्नेमा रामस्मृति युवा क्लबका अध्यक्ष र सचिवको व्यक्तिगत नाममा २ लाख ३० हजार रुपैयाँ नगद बुझाइएको छ। भिडियो डकुमेन्टरी निर्माणमा सम्झौताविपरीत सामग्रीको सुरक्षित कपी जिन्सी दाखिला नगरिकन ९ लाख ४० हजार रुपैयाँ भुक्तानी गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन विपरीत दरबन्दीबाहेक सहायक कम्प्युटर अपरेटर र खेल प्रशिक्षक राखेर ७ लाख ७२ हजार रुपैयाँ तलब-भत्ता बाँडिएको छ। स्वास्थ्यतर्फको तलब शीर्षकको बजेटबाट ल्यापटप र मसलन्द सामान खरिद गरी ५ लाख ९९ हजार रुपैयाँ रकमान्तर गरिएको छ।

विशेष अनुदानसम्बन्धी कार्यविधिको धज्जी उडाउँदै औद्योगिक ग्राम निर्माण र प्रशासनिक भवन निर्माणमा १ करोड करोडभन्दा बढीको लागत अनुमान गरी नियमविपरीत उपभोक्ता समितिहरूबाट काम गराएर करोडौँ रुपैयाँको अनियमितता गरिएको छ। राज्यको स्रोत र सार्वजनिक सम्पत्तिमाथि भएको यो मनपरीले स्थानीय तहमा वित्तीय अनुशासनको खिल्ली उडाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।