
Ground Zero
November 17, 2026

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा १ करोड ९३ लाख ६५ हजार ५ सय १० रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात पेश नै नगरेर ६० लाख ५० हजार ९ सय २४
रुपैयाँ खर्च गरेको छ ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुबाट ९५ लाख २३ हजार सम्परीक्षण भएपछि हाल कुल अद्यावधिक बेरुजु ३४ करोड ८२ लाख ३५ हजार रुपैयाँ पुगेको छ।
नगरपालिकाको ५ अर्ब २९ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र खरिद नियमावलीको गम्भीर उल्लङ्घन भएको पाइएको छ।
दिवा खाजा कार्यक्रमको कार्यविधि विपरीत १८० दिनको सट्टा ३२ दिन बढी जोडी विद्यालयहरूलाई सङ्घीय सशर्त बजेटबाट १० लाख ३४ हजार रुपैयाँ बढी निकासा दिइएको छ।
स्थानीय सरकार सञ्चालन ऐनको अधिकार क्षेत्रविपरीत जानकी, पशुपति र राममणि क्याम्पसलाई आन्तरिक स्रोतबाट व्यवस्थापन खर्च भन्दै १५ लाख रुपैयाँ अनुदान बाँडिएको छ।
त्यस्तै, शिक्षण सहयोग अनुदान कार्यविधि विपरीत शून्य दरबन्दी भएका विद्यालयहरूमा एकै विषयका लागि दुई-दुई जना शिक्षक (ममता चौधरी, समीक्षा राना, विष्णु पौडेल र सुशीला काफ्ले) नियुक्त गरी ११ लाख ५५ हजार रुपैयाँ तलब-भत्ता बुझाइएको छ।
स्वास्थ्य सेवातर्फ स्वीकृत दरबन्दी पूरा भइसकेको अवस्थामा पनि १६ जना सङ्घीय निजामती कर्मचारीलाई काजमा राखेर सङ्घीय सशर्त अनुदानबाट १ करोड २८ लाख ७९ हजार रुपैयाँ गैरकानुनी रूपमा तलब-भत्ता भुक्तानी गरिएको छ।
सार्वजनिक खरिद नियमावलीको धज्जी उडाउँदै ट्र्याक्टर खरिदमा सम्झौताविपरीत न्यूनतम ३६०० सिसी हुनुपर्नेमा ३५३१ सिसी भएको मेसिन स्वीकार गरी २७ लाख ९४ हजार रुपैयाँ भुक्तानी दिइएको छ। सार्वजनिक स्रोत र राज्यको कोषमाथि भएको यो मनपरी र कानुनी उल्लङ्घनले स्थानीय तहमा वित्तीय अनुशासनको खिल्ली उडाएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।