Skip to main content
शनिबार, २८ कात्तिक २०८३

मुगुको सोरु गाउँपालिकामा ३ करोड ५७ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 14, 2026


मुगु जिल्लाको सोरु गाउँपालिकामा ३ करोड ५७ लाख ३० हजार १ सय ९८ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात पेश नै नगरेर १ करोड ७२ लाख २६ हजार ३ सय ७१ रुपैयाँ झ्वाम पारेका छन् ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले यहाँ कानुन, नियम र वित्तीय अनुशासनलाई पूर्णरूपमा बेवास्ता गर्दै करोडौँ रुपैयाँको चरम दुरुपयोग गरिएको खुलासा गरेको छ।

प्रतिवेदन अनुसार, स्थायी पदपूर्ति गर्नुपर्ने निकायमा नियम विपरीत दरबन्दी बाहिरका १३ जना कर्मचारीलाई ५८ लाख ८८ हजार र ११ वटै वडाका वडाध्यक्षका लागि गैरकानूनी रूपमा स्वकीय सचिव राखेर ११ लाख रुपैयाँ तलब–भत्ता बाँडिएको छ। यसबाहेक, प्रादेशिक अभिलेखालयमा दर्ता नगरि पद सिर्जना गरी रकम खर्च गरिएको छ।

वित्तीय अराजकताबारे थप खुल्दै जाँदा, अख्तियारको बयान दिन जाँदाको ७१ हजार ९ सय भ्रमण भत्ता, खरिद योजना तयार गर्न भन्दै औचित्यहीन रूपमा परामर्शदातालाई दिएको २ लाख ५० हजार, र स्वीकृत कार्यक्रमभन्दा फरक शीर्षकमा ९ लाख ८८ हजार रुपैयाँ उडाइएको छ। साथै, १० शैया अस्पताल निर्माणको गत वर्षको भुक्तानीमा १६ लाख ७५ हजार रुपैयाँ कोलेनकाको प्रमाणित विवरणबिना नै भुक्तानी गरिएको छ।

यसबाहेक, निर्माण कार्यमा घटी मोटाइमा पीसीसी ढलान गरेर १९ लाख ३२ हजार अनियमितता गरिएको छ, बिना भेरिएसन नयाँ आइटम थपेर ९ लाख २२ हजार भुक्तानी गरिएको छ, र प्रतिलिपि बिलका आधारमा २ लाख ८९ हजार खर्च लेखिएको छ। साथै, प्रधानमन्त्री रोजगार कार्यक्रममा ४ लाख ६५ हजार र गत वर्षको भुक्तानी बाँकी भन्दै ३० लाख ८१ हजार रुपैयाँ गैरकानूनी रूपमा रकमान्तर गरी भुक्तानी दिइएको छ।

पुराना बेरुजुसमेत जोड्दा सोरु गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ६१ करोड २२ लाख ५२ हजार रुपैयाँ पुगेको छ। नागरिकको करबाट उठेको विकासको बजेटमाथिको यो लापरबाही र दोहनप्रति अब जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने देखिन्छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।