Skip to main content
सोमबार, २३ कात्तिक २०८३

मुगुको छायानाथ रारा नगरपालिकामा ३ करोड ७९ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 9, 2026


मुगुको छायानाथ रारा नगरपालिकामा ३ करोड ७९ लाख ३२ हजार रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात पेस नै नगरिकन ५८ लाख ८३ हजार रुपैयाँ राज्यको ढुकुटीबाट झ्वाम पारिएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले यहाँ कानुन र वित्तीय अनुशासनको धज्जी उडाउँदै करोडौँ रुपैयाँको चरम दुरुपयोग भएको खुलासा गरेको छ।

प्रतिवेदन अनुसार, स्थायी पदपूर्ति गर्नुपर्ने निकायमा नियम विपरीत १४४ जना कर्मचारी करारमा राखेर ४ करोड ४२ लाखभन्दा बढी तलब–भत्ता बाँडिएको छ। यसमध्ये स्वीकृत दरबन्दी बाहिरका ५० जना कर्मचारीको पारिश्रमिकमा मात्रै १ करोड ३१ लाख रुपैयाँ अनियमित रूपमा खर्च गरिएको पाइएको छ। त्यस्तै, शिक्षक दरबन्दी मिलान नगरी जथाभावी शिक्षक राखेर १ करोड २ लाख रुपैयाँ र नगर प्रमुख तथा उपप्रमुख कार्यक्रमतर्फ तोकिएको मापदण्ड विपरीत निर्देशिका र कार्यविधि मिचेर विभिन्न फर्म तथा संस्थालाई १७ लाख २६ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ।

वित्तीय अराजकताबारे थप खुल्दै जाँदा, स्वीकृत कार्यक्रमभन्दा फरक शीर्षकमा १८ लाख ८० हजार खर्च गरिएको छ भने नगर प्रमुख रोजगार कार्यक्रममा स्वरोजगार सिर्जना हुने कार्यमा खर्च गर्नुको सट्टा कर्मचारी राखेर वितरणमुखी कार्यमा २२ लाख ८९ हजार उडाइएको छ। यसबाहेक, नियम विपरीत गत वर्षको भुक्तानी बाँकी भन्दै ८३ लाख ४५ हजार रकमान्तर गरिएको, घटी लम्बाइको बाटो निर्माणमा बिल मिलाएर भुक्तानी दिएको, र सोझै खरिद गर्दा प्रतिस्पर्धा नगर्दा थप व्ययभार पारिएको पाइएको छ।

पुराना बेरुजुसमेत जोड्दा छायानाथ रारा नगरपालिकाको कुल अद्यावधिक बेरुजु २२ करोड ६९ लाख ९६ हजार रुपैयाँ पुगेको छ। नागरिकको करबाट उठेको विकासको बजेटमाथिको यो लापरबाही र दोहनप्रति अब जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने देखिन्छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।