
Ground Zero
November 2, 2026

कर्णालीको हुम्लास्थित सर्केगाड गाउँपालिकामा १ करोड १५ लाख ७१ हजार रुपैयाँभन्दा बढी रकम अनियमित तरिकाले खर्च भएको छ भने प्रमाण तथा आवश्यक कागजात नै पेस नगरी ४६ लाख ३० हजार रुपैयाँ झ्वाम पारिएको छ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजु फछ्र्योटपछि कायम बेरुजुमा यस वर्ष १ करोड ७१ लाख ७५ हजार रुपैयाँ थपिएपछि कुल अद्यावधिक बेरुजु ३६ करोड ४० लाख ३२ हजार रुपैयाँ पुगेको छ।
गाउँपालिकाको ९९ करोड ३९ लाख रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र वित्तीय अनुशासनको गम्भीर उल्लङ्घन भएको पाइएको छ।
स्थानीय सरकार सञ्चालन ऐन विपरीत विनियोजन ऐनमा समावेश नै नगरि तथा कच्चावारी र बजेटमा समेत व्यवस्था नगरेर गत वर्षको भुक्तानी बाँकी भन्दै ८६ लाख ४६ हजार रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी गरिएको छ। यसरी प्रत्येक वर्ष आगामी वर्षलाई दायित्व सिर्जना गराउँदा चालु आर्थिक वर्षका योजनाहरू प्रभावित भएका छन्।
त्यस्तै, कुनै पनि पुष्ट्यााइ र प्रमाणबिना नै विभिन्न शीर्षकबाट १९ लाख २६ हजार रुपैयाँ खर्च लेखेर रकम दुरुपयोग गरिएको छ।
कार्यविधिले तोकेको कार्ययोजना, रुजु र नियमित अनुगमन जस्ता प्रक्रिया नै पूरा नगरिकन हिमज्योति माध्यामिक विद्यालयलाई ‘शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदान’ भन्दै १० लाख रुपैयाँ सिधै भुक्तानी दिइएको छ।
कानुनको धज्जी उडाउँदै मनपरी ढङ्गले पुराना दायित्व भुक्तानी गर्ने र बिनाप्रमाण राज्यको कोष दोहन गर्ने प्रवृत्तिले स्थानीय तहमा सुशासन र वित्तीय अनुशासनको खिल्ली उडाएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।