
Ground Zero
October 27, 2026

स्थानीय तहमा जनताको रगत र पसिनाको कमाइमाथि कतिसम्म लुट मच्चिन्छ भन्ने गतिलो उदाहरण सिराहाको गोलबजार नगरपालिकामा देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु, बाख्रा तथा गुदरी हाटबजार ठेक्का प्रक्रियामा चरम लापरबाही र हिनामिना गरेको पाइएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । नगरपालिका क्षेत्रभित्रका यी हाटबजारहरूको राजस्व सङ्कलन गर्ने जिम्मा नियम विपरीत विवादास्पद ठेकेदार वीरेन्द्र कुमार यादवलाई सुम्पिई राज्यको ढुकुटीमाथि ठूलो हानिनोक्सानी पुर्याइएको छ।
अख्तियारले यसलाई यो कुनै सामान्य त्रुटि नभई सुनियोजित र आपसी मिलेमतोमा बदनियतपूर्वक गरिएको घोटाला भएको खुलेको छ। दुवै आर्थिक वर्षमा १ करोड ६० लाख ४६ हजार ३ सय ४४ रूपैयाँ सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको अख्तियारको ठहर छ । प्रचलित कानुनलाई ठाडै उपेक्षा गर्दै बिना प्रतिस्पर्धा मनपरी ढङ्गले कर छुट दिने प्रपञ्च रचिएको छ।
यस काण्डका मुख्य योजनाकार तथा प्रतिवादीहरूमा तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, तत्कालीन उपप्रमुख रेशम कुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर के.सी. र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी तथा ठेकेदार वीरेन्द्र कुमार यादव रहेका छन्। उनीहरूमाथि बिगो असुल, जरिवाना र कडा कानुनी कारबाहीको माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।