
Ground Zero
October 25, 2026

एउटा सामान्य स्क्रिनसर्ट खिचेको कति पर्ला ? भक्तपुरको सूर्यविनायक नगरपालिकाले भने एउटै स्क्रिनसर्ट फोटोको ५ हजार ८ सय १ रुपैयाँ भुक्तानी गरेर ५ लाख रुपैयाँ स्वाहा पारेको छ।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार नगरपालिकाले आफ्ना विकास निर्माण र गतिविधि सम्बन्धी समाचार संकलन गर्न एक मिडियासँग सम्झौता गरी ४ लाख ९३ हजार ९९ रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।
खासमा यो काम नगरपालिकाकै आफ्नै सूचना प्रविधि (आईटी) शाखाले सजिलै गर्न सक्थ्यो। तर आफ्नै जनशक्तिलाई पन्छाएर नियमविपरीत बाहिरबाट परामर्श सेवा खरिद गरियो।
लेखापरीक्षणका क्रममा उक्त कम्पनीले बुझाएको पेनड्राइभ जाँच्दा विभिन्न मिडियामा प्रकाशित ८५ वटा समाचारको स्क्रिनसर्ट मात्र भेटियो। यसरी हिसाब गर्दा एउटा स्क्रिनसर्टको लागत ५ हजार ८ सय १ रुपैयाँ पर्न आएको छ ।
आन्तरिक जनशक्तिबाटै हुने सामान्य काममा परामर्शको नाम दिएर लाखौँ रकम खन्याइनु सरासर नियमविपरीत र गम्भीर अनियमितता भएको महालेखाले औँल्याएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।