Skip to main content
शनिबार, १४ कात्तिक २०८३

बाँकेको वैजनाथ गाउँपालिकामा ५ करोड ५७ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 31, 2026


बाँकेको वैजनाथ गाउँपालिकामा ५ करोड ५७ लाख १६ हजार रुपैयाँभन्दा बढी रकम अनियमितता भएको छ भने आवश्यक प्रमाण र कागजात नै पेस नगरी ४८ लाख ६४ हजार रुपैयाँ झ्वाम पारिएको छ। महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजु फछ्र्योटपछि कायम बेरुजुमा यस वर्ष ६ करोड ४१ लाख १९ हजार रुपैयाँ थपिएपछि अद्यावधिक बेरुजु ३७ करोड ४१ लाख ६ हजार रुपैयाँ पुगेको छ।

गाउँपालिकाको १ अर्ब ९५ करोड ३८ लाख रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा नियम मिचेर बजेट र स्रोतको मनपरी दुरुपयोग गरिएको पाइएको छ। सार्वजनिक खरिद नियमावली विपरीत १० लाखको सीमा नाघेर ३ करोड ७६ लाख ८४ हजार रुपैयाँको सामान र सेवा सोझै खरिद गरिएको छ।

विपद व्यवस्थापन कोषको उद्देश्यविपरीत सडक ग्राभेल र कल्भर्ट मर्मतका नाममा २८ लाख ७० हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, प्रदेश सरकारको बजेट कार्यान्वयन मार्गदर्शन उल्लङ्घन गरी प्रतिस्पर्धाबिनै २४ लाख ४६ हजार रुपैयाँ खर्च गरिएको छ।

सामुदायिक विद्युतीकरणमा लाभग्राहीले व्यहोर्नुपर्ने जनसहभागिताको रकम गैरकानुनी रूपमा पालिकाको कोषबाट ४ लाख ८७ हजार रुपैयाँ तिरिएको छ भने मन्दिर र सार्वजनिक स्थानका नाममा वितरणमुखी तरिकाले व्यक्तिगत रूपमा १६ लाख २९ हजारको खानेपानी कल बाँडिएको छ।

उपभोक्ता समितिमार्फत गराइने काममा प्राविधिक सिफारिसबिनै हेभी मेसिन प्रयोग गराएर १४ लाख ६४ हजार रुपैयाँ भुक्तानी दिइएको छ। नियमविपरीत पदाधिकारी र वडास्तरमा अनुगमन भत्ताबापत ८ लाख ४४ हजार रुपैयाँ बाँडिएको छ भने दरबन्दी बाहिरका ११ जना सामाजिक परिचालक र कार्यालय सहायकलाई ३७ लाख ६८ हजार रुपैयाँ तलबभत्ता खुवाइएको छ।

त्यति मात्र होइन, गाउँपालिका अध्यक्ष-उपाध्यक्षले मासिक यातायात सुविधा लिँदासमेत थप २ लाख ८८ हजारको सवारी साधन भाडामा लिइएको छ। प्रहरी चौकी, इलाका प्रशासन र सहकारीका घेरापर्खाल निर्माणमा १६ लाख ७९ हजार रुपैयाँ बजेट दुरुपयोग गरिएको छ।

मुस्लिम महिलाका लागि ल्याइएको तरकारीको बीउ गैरमुस्लिमलाई बाँड्ने र औचित्य पुष्टि नहुने ड्राइभिङ तालिममा ९ लाख ९१ हजार रुपैयाँ खर्च गर्नेजस्ता गैरजिम्मेवार कार्यले स्थानीय सरकारमा वित्तीय अनुशासनको धज्जी उडाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।