
Ground Zero
October 5, 2026

प्रधानमन्त्री वालेन्द्र शाहले सरकार कुनै पनि सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताउनुभएको छ। सोमबार सिंहदरबारमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्दै उहाँले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा खोज तथा उद्धार भइरहेको स्पष्ट पार्नुभयो।
भोटेकोशी, त्रिशूली, र गण्डकीलगायतका क्षेत्रमा भएको क्षतिको अध्ययन गर्दै पुनर्निर्माणमा जुट्न उपलब्ध स्रोत-साधन र जनशक्ति परिचालन गरिने आश्वासन उहाँले मुख्यमन्त्रीहरूलाई दिनुभयो।
बैठकपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्धार र राहतको काम सकिएकाले अब पुनर्निर्माणमा लाग्नुपर्ने बताउनुभयो। उहाँले नुवाकोटको लामिडाँडास्थित सामुदायिक वनजस्ता सुरक्षित स्थानमा नयाँ बस्ती बसाल्न प्रस्ताव गरिएको जानकारी दिनुभयो।
त्यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद् प्रभावितलाई राहत दिन देखिएका कानुनी जटिलता हटाउन र रसुवा-भोटेकोशी क्षेत्रलाई विशेष अवस्था मानेर कानुन संशोधन गर्न सरकारलाई सुझाव दिनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।