
Ground Zero
October 4, 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताउनुभएको छ। आइतबार काठमाडौँमा सुरु पार्टीको १५ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरी नयाँ सोच र भिजनका साथ पार्टी अगाडि बढेको स्पष्ट पार्नुभयो।
उहाँले बिपी कोइरालाले स्थापना गरेको ऐतिहासिक पार्टीलाई पुराना अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्ताले सबल ढङ्गले हाँकिरहेको र देशको मुहार फेर्न योगदान पुर्याउने प्रतिबद्धता जनाउनुभयो।
संविधान संशोधनको प्रसङ्गमा बोल्दै शर्माले यो संसद्को गणित मात्र नभई सबै नागरिकको अपनत्व जोडिनुपर्ने विषय भएको बताउनुभयो। उहाँले संसद्बाहिर रहेका दलहरूलाई पनि संशोधन प्रक्रियामा समेट्न आग्रह गर्नुभयो। साथै, जेन्जी, मधेस, थारूहट तथा ६२/६३ को आन्दोलन र समावेशी अधिकारहरूलाई कुनै आँच नपुर्याई संशोधन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।