
Ground Zero
September 20, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार बसेको सचिवालय बैठकले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिनका साथै पुनस्र्थापना तथा पुनर्निर्माणको काम तत्काल थाल्न माग गरेको छ। बेपत्ता नागरिकहरूको शव पहिचानका लागि डिएनए परीक्षण छिटो गर्न र पीडित परिवारलाई राहतको प्रभावकारी अनुभूति गराउन पार्टीले जोड दिएको छ।
प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा मधेस प्रदेश अधिवेशनको आन्तरिक विवादबारे सहमहामन्त्री हरि ढकाल संयोजकत्वको समितिले प्रस्तुत गरेको अडिट रिपोर्टमाथि छलफल हुनुका साथै अनुशासन आयोग र विभिन्न विभागमा नयाँ सदस्य मनोनीत गरिएको छ।
त्यस्तै, उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको समीक्षा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकार, संसद् र पार्टीबिचको सम्बन्ध थप सुदृढ बनाउन निर्देशन दिनुभएको छ। विपद्पछि स्थगित पार्टीका नियमित कार्यक्रमहरू पुनः सुचारु गर्ने निर्णय पनि बैठकले गरेको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।