
Ground Zero
September 20, 2026

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कठिन परिस्थितिमा पनि निरन्तर सूचना, सञ्चार र सार्वजनिक सेवा उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको बताउनुभएको छ।
आइतबार आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ’मा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालको डिजिटल रूपान्तरणलाई प्रविधि विस्तारमा मात्र सीमित नराखी विपद् तथा सङ्कटका समयमा समेत प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। हालैको भोटेकोशी बाढीले भौतिक पूर्वाधारका साथै राष्ट्रिय सूचना प्रणाली, सञ्चार सञ्जाल र तयारीको परीक्षण गरेको उल्लेख गर्दै उहाँले सङ्कटका बेला अफवाह र गलत सूचना नियन्त्रण गरी सूचना प्रणालीलाई विश्वसनीय बनाउनुपर्ने बताउनुभयो।
डिजिटल नेपालको आगामी चरणका लागि भरपर्दो कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरसञ्चालन क्षमता, नागरिककेन्द्रित सेवा, एआई (AI) र तथ्याङ्क शासनको जिम्मेवार प्रयोगलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। मन्त्री तिमिल्सिनाले दुर्गम तथा विपद् प्रभावित क्षेत्रका नागरिकसम्म डिजिटल सेवाको पहुँच पुर्याउन सरकार, निजी क्षेत्र, प्राज्ञिक समुदाय र नवप्रवर्तनकर्ताबीच सहकार्य आवश्यक रहेको व्यक्त गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।