
Ground Zero
September 17, 2026

श्रम संस्कृति पार्टीले ‘द ग्रे जोन’को रिपोर्ट र सार्वजनिक कागजातका आधारमा नेपालको राजनीति तथा नेतृत्व विकासक्रममा विदेशी हस्तक्षेप भइरहेको भन्दै गम्भीर प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा पार्टीका प्रमुख सचेतक आरेन राईले विशेष समय लिएर यस्ता गतिविधिले देशको सार्वभौमसत्ता र स्वाधीनतामाथि अपमान पुर्याएको बताए।
सांसद राईले कसैको नाम कागजमा हुनु मात्रै विदेशी हस्तक्षेपको प्रमाण नभए पनि यस्ता गम्भीर प्रश्नमा सरकार मौन बस्न नमिल्ने तर्क गरे। उनले विदेशी सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास र युवा परिचालनका सबै कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न सरकारसँग माग गरे। साथै, विदेशी सहयोग राजनीतिक दलको निर्वाचन वा सत्ता परिवर्तनमा प्रयोग भएको छ/छैन भन्नेबारे स्वतन्त्र छानबिन गर्न र भविष्यमा यस्ता प्रभाव रोक्न कडा कानुनी मापदण्ड बनाउनुपर्नेमा जोड दिए।
सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति टिप्पणी गर्दै उनले सत्तापक्षले यस विषयलाई लिएर राजनीतिक प्रतिशोध साधेको र ‘जेनजी’ आन्दोलनलाई गलत ढङ्गले जोडेर ढाकछोप गर्न खोजेको आरोप लगाए। मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध चाहेको स्पष्ट पार्दै उनले नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र सुरक्षित रहेको बताए।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।