
Ground Zero
November 7, 2026

दैलेखको आठबिस नगरपालिकामा ३ करोड १८ लाख ४६ हजार रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात पेस नै नगरिकन १ करोड ४८ लाख ३२ हजार रुपैयाँ राज्यको ढुकुटीबाट झ्वाम पारिएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले यहाँ कानुन र वित्तीय अनुशासनको धज्जी उडाउँदै करोडौँ रुपैयाँको चरम दुरुपयोग भएको खुलासा गरेको छ।
प्रतिवेदन अनुसार, स्थायी पदपूर्ति गर्नुपर्ने निकायमा नियम विपरीत ३४ जना कर्मचारी करारमा राखेर ९६ लाख ३९ हजार रुपैयाँ तलब–भत्ता बाँडिएको छ। त्यस्तै, अस्पताल भवन निर्माणका क्रममा अत्यावश्यक आइटमहरू घटाएर लागत अनुमानभन्दा १९ लाख ३० हजार बढी व्ययभार पार्ने गरी भेरिएसन गरिएको छ भने १५ लाख २६ हजार रुपैयाँको थप कार्य कोटेसनका भरमा मनपरी भुक्तानी गरिएको छ।
वित्तीय अराजकताबारे थप खुल्दै जाँदा, प्रतिस्पर्धा छल्दै ५१ लाख ८७ हजार रुपैयाँभन्दा बढीको मालसामान तथा निर्माण कार्य एउटै फर्मबाट पटक-पटक सोझै खरिद गरिएको पाइएको छ। यसबाहेक, आरसिसि संरचनायुक्त जटिल र ठूला वडा कार्यालय भवनहरू उपभोक्ता समितिमार्फत गराएर ९६ लाख ९२ हजार भुक्तानी गरिएको छ भने एम्बुलेन्स सेवाको राजस्व हिनामिना, मोबाइल खरिदमा जिन्सी प्रविष्टि नगरेको, सुपरभाइजरको नाममा दोहोरो भुक्तानी दिएको र मुख्यमन्त्री रोजगार कार्यक्रममा दररेट फरक पारेर १७ लाख ९६ हजार थप व्ययभार पारिएको छ।
पुराना बेरुजुसमेत जोड्दा आठबिस नगरपालिकाको कुल अद्यावधिक बेरुजु ६३ करोड ९९ लाख २० हजार रुपैयाँ पुगेको छ। नागरिकको करबाट उठेको विकासको बजेटमाथिको यो लापरबाही र दोहनप्रति अब जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने देखिन्छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।