
Ground Zero
October 6, 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न र मृत्यु दर्ता सहज बनाउन कानुन संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विद्यमान मूल ऐनमा संशोधनका लागि कानुन मन्त्रालय र विपद् प्राधिकरणबीच निरन्तर छलफल भई उपयुक्त समाधान निकालिएको बताउनुभयो। हाल संसद अधिवेशन अन्त्य भएकाले छिटो प्रक्रियाबाट काम अघि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।
हालै भोटेकोशी क्षेत्रमा आएको बाढीले सबैलाई सचेत गराएको भन्दै उहाँले अब राज्यका हरेक कानुन निर्माण र काम-कारबाहीमा विपद् व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो। साथै, उहाँले सर्वदलीय समिति मार्फत सम्बन्धित मन्त्रीहरूलाई बोलाएर विपद्केन्द्रित दीर्घकालीन समाधानका उपायहरू पहिल्याउनुपर्नेमा जोड दिनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।