
Ground Zero
October 5, 2026

बागमती प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र खाद्यान्न सामग्री वितरणको काम सम्पन्न गरिसकेको मुख्यमन्त्री किरण थापाले बताउनुभएको छ। सोमबार सिंहदरबारमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकपछि उहाँले अब सरकार पुनर्निर्माण र पुनस्थापनाको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
मुख्यमन्त्री थापाले बाढीका कारण बगरमा परिणत भएका जोखिमयुक्त स्थानमा नभई सुरक्षित र वैकल्पिक स्थानमा नयाँ सहरीकरण गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ। यसैक्रममा विदुर नगरपालिका-२ स्थित ‘लामिडाँडा’ सामुदायिक वन क्षेत्र बस्न योग्य र सुरक्षित रहेकाले त्यहाँ नयाँ बस्ती बसाल्न सिफारिस गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले विपद् व्यवस्थापनका लागि स्रोत-साधन र जनशक्ति परिचालन गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको छ। बैठकमा प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले राहत वितरणका कानुनी जटिलता फुकाउन सुझाव दिनुभएको थियो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।