Skip to main content
आइतबार, ११ असोज २०८३

जिब्रो छेड्ने जात्रा

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

September 27, 2026


नेवार समुदायको धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको ऐतिहासिक एवं परम्परागत ‘म्ये प्वाः खनेगु’ अर्थात् जिब्रो छेड्ने जात्रा मध्यपुर थिमिमा विशेष विधिपूर्वक सम्पन्न भएको छ ।

हरेक वर्ष इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमा (येंया पुन्ही) को भोलिपल्ट मनाइने यस जात्रामा यस वर्ष थिमिका स्थानीय वीरेन्द्रभक्त गजू श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडाएर पुस्तौँदेखिको सांस्कृतिक परम्परालाई निरन्तरता दिनुभएको हो। मध्यपुर थिमिमा वैशाख २ गते बोदेमा र आश्विन शुक्ल पूर्णिमाका दिन गरी वर्षमा दुई पटक जिब्रो छेड्ने जात्रा मनाउने प्रचलन छ ।

जात्राको अवलोकन गर्न पुग्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यो जात्रा थिमिको मात्र नभई सम्पूर्ण नेपालकै मौलिक सांस्कृतिक सम्पदा भएको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई यस्ता मौलिक परम्परासँग जोड्नुपर्नेमा जोड दिँदै मठमन्दिर तथा संस्कृतिको जगेर्नाका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो ।

त्यस्तै, मध्यपुर थिमि वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले धर्म, कला र संस्कृतिको संरक्षणका लागि वडास्तरबाट बजेट छुट्याइएको बताउँदै जात्रा र परम्पराहरूलाई भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो। स्थानीय बासिन्दा तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको यस जात्राले थिमिको विशिष्ट सांस्कृतिक पहिचानलाई पुनः उजागर गरेको छ ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।