Ground Zero
December 26, 2025
पोखराको आकाश अझै पनि अन्तर्राष्ट्रिय उडानको आवाज सुन्न आतुर छ । ३५ अर्ब लगानीमा चीनको ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुन सकेको छैन ।
यो केवल व्यवस्थापनको असफलता मात्र होइन, प्राविधिक, नीतिगत र गम्भीर भ्रष्टाचारजन्य निर्णयहरूको संयुक्त परिणाम हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही विमानस्थल निर्माणमा ८ अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै पहिलो चरणको मुद्दा विशेष अदालतमा दायर गरिसकेको छ ।
मुद्दाको केन्द्रमा छन्—नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी, जो हाल पुर्पक्षका लागि कारागारमा छन् । तर प्रश्न एउटै छ—प्रदीप अधिकारी जेल गएसँगै के पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पनि भविष्य गुमाएको हो ?
विमानस्थल बनेको ठाउँ नै उपयुक्त थिएन ?
उड्डयन विज्ञ शिशिर शर्मा स्पष्ट शब्दमा भन्छन्— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा ठूलो समस्या यसको लोकेसन हो । यो ठाउँ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रारम्भिक मापदण्डमै फेल हुन्छ । पोखरा उपत्यका चारैतिर डाँडाकाँडाले घेरिएको भौगोलिक बनावट हो । विमानस्थलको उत्तरमा हिमाल, दक्षिणमा घना बस्ती, पश्चिममा फेवाताल, ४१ सय फिटको पहाड र पूर्वमा टेकअफ गर्दाको जोखिम ।
यस्तो भूगोलमा सुरक्षित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक फ्लाइट प्रोसीजर डिजाइन अत्यन्त जटिल हुन्छ । तर समस्या यहाँबाट सुरु हुन्छ—फ्लाइट प्रोसीजर डिजाइनले दिएका महत्वपूर्ण सुझावहरू कार्यान्वयन नै गरिएन ।
रिपोर्ट थियो, तर कार्यान्वयन भएन
विमानस्थल निर्माणको क्रममा अन्तर्राष्ट्रिय परामर्शदाताहरूले तयार पारेका रिपोर्टहरूमा स्पष्ट लेखिएको थियो—
• रन-वे ३० बाट टेकअफ गर्न सुरक्षित छैनन्
• रन-वे १२ बाट ल्याण्डिङ गर्न सुरक्षित छैनन्
• टेरेन क्लियरेन्स अपर्याप्त छ
• विशेष किसिमको नेभिगेशन सिस्टम बिना नियमित क्षेत्रीय उडान सम्भव छैन
तर, ती रिपोर्टहरू प्रदिप अधिकारीले लुकाइयो ।
शिशिर शर्मा भन्छन्—“रिपोर्ट लिने तर लागू नगर्ने प्रवृत्तिले नै पोखरा विमानस्थल आज यस्तो अवस्थामा पुगेको हो । टेक्निकल चेतावनीलाई राजनीतिक र प्रशासनिक दबाबले दबाइयो, भ्रष्टाचारका लागि ।”
जेलमा व्यक्ति, तर संरचनामा दोष बाँकी
प्रदीप अधिकारी आज जेलमा छन् । तर, उनले लिएका निर्णयका प्रभाव रन-वेमा, टावरमा र आकाशमा बाँकी छन् ।
अन्तर्राष्ट्रिय उडान किन आएन ?
• एयरलाइन्सहरूलाई सेफ्टी ग्यारेन्टी दिन सकिएको छैन
• रन-वे ३० बाट टेकअफ र रन-वे १२ बाट ल्याण्डिङ सुरक्षित छैनन्
• बीमा कम्पनीहरू जोखिम लिन तयार छैनन्
• ICAO मापदण्डअनुसार पूर्ण प्रमाणीकरण बाँकी छ
• अन्तर्राष्ट्रिय उडानमा जहाजलाई ‘लोड पेनाल्टी’
शिशिर शर्मा भन्छन्—“कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्स भावनाले उड्दैन । उनीहरू कागज, डेटा र सेफ्टी रिपोर्ट हेर्छन् । पोखराले त्यो दिन सकेको छैन ।”
के अब अन्तर्राष्ट्रिय उडान असम्भव नै हो ?
शिशिर शर्मा पूर्ण निराश छन् । उनका अनुसार—
• सीमित प्रकारका सय सिट भन्दा कमका उडान सम्भव छन्
• ठूला जहाज कठिन छन्
• विशेष नेभिगेशन प्रणाली र अप्रोच डिजाइन सुधार गर्नुपर्छ
• मौसम र भौगोलिक जोखिम स्वीकार्ने एयरलाइन्स चाहिन्छ
तर यसको अर्थ थप लगानी, थप समय र राजनीतिक इच्छाशक्ति हो ।
अब के गर्नुपर्छ ?
ग्राउण्ड–जिरोले उठाएको प्रश्न यही हो—अब दोषीमाथि मुद्दा चल्यो, तर समाधान के ?
शिशिर शर्माको सुझाव—
• स्वतन्त्र अन्तर्राष्ट्रिय टेक्निकल अडिट
• फ्लाइट प्रोसीजर डिजाइन पुनरावलोकन
• ICAO स्तरको सेफ्टी सुधार
• नागरिक उड्डयन प्राधिकरणको संरचनात्मक सुधार
• राजनीतिक हस्तक्षेप पूर्ण रूपमा हटाउने
निष्कर्ष
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल एउटा संरचना होइन । यो नीतिगत असफलता, प्राविधिक लापरवाही र संस्थागत भ्रष्टाचारको प्रतिबिम्ब हो । प्रदीप अधिकारी जेल जानु एउटा सुरुवात हो ।
तर यदि विमानस्थल सुधारिएन भने—
• दोषी जेलमा
• संरचना बेकार
• ऋण जनतामाथि
यही नै सबैभन्दा ठूलो अन्याय हुनेछ ।
पोखराको आकाश अझै खुल्न बाँकी छ ।
तर त्यो आकाश खुल्ने कि नखुल्ने भन्ने निर्णय अब
कानुन, प्रविधि र राजनीतिक इच्छाशक्तिको परीक्षा बनेको छ ।
ग्राउण्ड जिरोका लागि सुभक महतोसँग उड्डयन विज्ञ शिशिर शर्माको विश्लेषण ।
थप :-
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कहाँ चुक्यो प्राधिकरण ?
किन सम्भव छैन अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न ? (विज्ञको कुरा हेरौं)
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।