Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बिहिबार, ०१ माघ २०८२

उड्डयन संकटको पाँच वर्ष: १२३ जनाको मृत्युपछि पनि न्यायिक छानबिन कहाँ अड्कियो ?

Ground Zero

November 21, 2025

नेपालको आकाश — जहाँ सपनाहरू उड्छन्, तर कहिलेकाहीँ, त्यही आकाशमा न्याय पनि हराउँछ । पाँच वर्षभित्र सात हवाई दुर्घटना र एक सय २३ जनाको मृत्यु । तर आजसम्म, कुनै उच्चस्तरीय न्यायिक छानबिन छैन । के यो केवल दुर्घटना हो — कि योजनाबद्ध मौनता ?
मिति : २०२४ जुलाई २४
समय : बिहान ११ : ११ मिनेट
स्थान : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
एयरलाइन्स : सौर्य एयरलाइन्सको CRJ-200 LR.
दर्ता नम्बर : 9N-AME
उडान : काठमाडौं — पोखरा मर्मतका लागि उड्दै थियो । तर उडानका केही सेकेन्डमै, त्यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ठोक्कियो । १९ जना मध्ये १८ जनाको ज्यान गयो । तीन वर्षको नाबालक बालक, उसलाई ‘सौर्य एयरलाइन्सको कर्मचारी’ भनेर दाबी गरियो ।
यो केवल एउटा दुर्घटना थिएन । यो नेपालको आकाशमा फैलिएको व्यवस्थागत बेथितिको प्रमाण थियो ।

त्रिभुवन विमानस्थलको भयावह क्षण
यो दृश्यले पाँच वर्षमा सातौँ पटक नेपालका नागरिकलाई उस्तै पीडा सम्झायो । मुस्ताङदेखि सोलुखुम्बु, पोखराबाट काठमाडौं — हरेक दुर्घटनामा एउटै कुरा दोहोरिन्छ: मानवीय त्रुटि, नियामक निकायको लापरबाही र राजनीतिक दबाब, अनि भ्रष्टाचार ।
1. तारा एयरलाइन्स (२९ मे २०२२) — पोखराबाट मुस्ताङ जाँदै गर्दा दुर्घटना, २२ जनाको मृत्यु ।
2. यती एयरलाइन्स (१५ जनवरी २०२३) — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा दुर्घटना, ७२ जनाको मृत्यु ।
3. मनाङ एयर (११ जुलाई २०२३) — सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु ।
4. मनाङ एयर (१४ अक्टोबर २०२३) — लोबुचेमा दुर्घटना, १ जनाको मृत्यु ।
5. सौर्य एयरलाइन्स (२४ जुलाई २०२४) — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना, १८ जनाको मृत्यु ।
6. एयर डायनस्टी (७ अगस्ट २०२४) — नुवाकोटमा हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु ।
7. अल्टिच्युट एयर (२९ अक्टोबर २०२५) — लोबुचेमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति नभए पनि छानबिन रोकियो ।
“यी सबै दुर्घटनामा एउटै नाम जोडिन्छ —नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी ।
र, त्यही कारणले आज पनि छानबिन समितिको फाइल कुर्सीमा धुलो सुँघिरहेको छ ।”

अधिराजको न्याय !
तीन वर्षको अधिराज शर्मा ।
बुबा — मनुराज शर्मा, सौर्य एयरलाइन्समा प्राविधिक ।
आमा — प्रिजा खतिवडा, उर्जा मन्त्रालयकी कम्प्यूटर अपरेटर ।
“बिहान छोरी र नातीलाई विमानस्थल पुर्याएर फर्केका थियौं । केही घण्टापछि खबर आयो — विमान दुर्घटना भयो । तर त्यो पीडामाथि अर्को प्रहार तब भयो, जब थाहा भयो — तीन वर्षको मेरो नातीलाई पनि
‘सौर्य एयरलाइन्सको कर्मचारी’ बनाए र छोरीलाई पनि कर्मचारी बनाए ।” यो केवल अनैतिक होइन, कानूनी अपराध थियो । तर सरकारी जाँचबुझ आयोगले यो विषयमा एक शब्द पनि लेखेन ।

संसदको निर्णायक आदेश
मिति : २०८२ भदौ ४ गते
समिति : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
बैठक नम्बर : ५५
सभापति राजकिशोर यादवको अध्यक्षतामा ऐतिहासिक निर्णय भयो —पाँच वर्ष यता भएका सबै हवाई दुर्घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गरियोस् । सर्वोच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन । “तर त्यो निर्णय आजसम्म कार्यान्वयन भएन । किनभने छानबिन सुरु भयो भने, दोषी ठहरिने सम्भावना सर्वाधिक प्रदीप अधिकारी र उनका नेटवर्कमाथि पर्छ ।”

प्रदीप अधिकारी र पोखरा विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ३५ अर्ब खर्च र भ्रष्टाचार १८ अर्ब । तर सुरक्षा मापदण्ड अपूर्ण । उद्घाटनको १५ औं दिनमै यती एयरलाइन्सको ATR–72 दुर्घटना, अनि ७२ जनाको मृत्यु ।
उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन- “रन-वे ३० बाट मिस्ड एप्रोच गर्दा दुई सेकेन्डमै पहाड आउँछ । यो डिजाइन त्रुटिपूर्ण थियो । तर राजनीतिक आदेशले, उद्घाटन रोकिएन । नेपालका आकाशमा सबैभन्दा ठूलो दुर्घटना र त्यसको पनि कुनै कानूनी दोषारोपण छैन, किनभने अनुसन्धान सुरु भयो भने, दोष नियामकमै भेटिन्छ ।

सौर्य दुर्घटनाको इनसाइड स्टोरी
सौर्य दुर्घटनापछि तत्काल सरकारले जाँचबुझ आयोग बनायो । तर आयोगकै सदस्यहरू कानूनी योग्यता नपुगेका व्यक्ति थिए । “गैर–सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली २०७१ अनुसार सदस्य हुनका लागि कम्तीमा १५ वर्षको उड्डयन अनुभव आवश्यक छ । तर मुकेश डंगोलको अनुभव १२ वर्ष मात्र ।
संयोजक रतिशलाल सुमन प्राधिकरणकै सुरक्षा विभागका कर्मचारीको नातेदार । उनी र सेफ्टी डिभिजनका प्रभाकर मल्ली नाता नातेदार । अनि डा. सुदिप भट्टराई जसको उड्डयनसँग कुनै प्रत्यक्ष अनुभव नै थिएन । “यस्तो आयोगबाट के निष्कर्ष निस्कन्थ्यो ? प्रतिवेदनमा दोष देखाइयो — मरेका को–पाइलट सुशान्त कटुवालमाथि ।”
“तर त्यो रिपोर्टमा एउटा पनि शब्द थिएन —बिग्रिएको जहाज किन उडाइयो ? १९ जना यात्रु किन राखियो ?
अनि बालकलाई किन कर्मचारी बनाइयो ? “उत्तर छैन ।”

पीडित परिवारको आवाज
“मेरो छोरी उर्जा मन्त्रालयमा काम गर्थे । मेरो छोरी प्रिजा र ज्वाईं मनुराज, अनि नाती अधिराज — तीनै जनाको मृत्यु भयो । अनि मैले देखेँ — मेरो तीन वर्षको नातीलाई पनि ‘सौर्य एयरलाइन्सको कर्मचारी’ भनेर बीमा फाइलमा लेखिएको ।” “अब म सरकारसँग होइन, देशसँग न्याय माग्दैछु।” मृतकका बुवा प्रकाश खतिवडा — यो नाम अब मात्र एक व्यक्ति होइन, न्याय खोज्ने सयौं परिवारहरूको प्रतीक हो ।”

राजनीतिक पृष्ठभूमि
भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजी आन्दोलनले देशको दिशा बदल्यो । संसद् विघटन भयो । अनि सुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन । तर पाँच वर्ष यता भएका हवाई दुर्घटनाको न्यायिक छानबिन — अझै रोकिएको छ । किनभने, छानबिन सुरु भयो भने दोषीहरू सत्ता प्रणालीभित्रै भेटिन्छन् ।” “जनताको चिच्याहट सिंहदरबारको पर्खालभित्र हराइरहेको छ ।”

हवाई सुरक्षा
नेपालमा नियामक निकाय र सेवा प्रदायक एउटै संस्थाले हेर्छ । प्राधिकरणले विमानस्थल बनाउँछ, अनुमतिपत्र दिन्छ, अनि आफैं नियमन गर्छ । यस्तो अवस्थामा दुर्घटनाको छानबिन निष्पक्ष हुनै सक्दैन । “हरेक उडानमाथि शंका छ, तर नियामक मापदण्डमा मौनता छ ।”

यात्रुको भय
“नेपालमा प्रत्येक सातौँ उडानमा ‘टेक्निकल रिपोर्ट’ आउँछ । तर विमानहरू पुराना छन्, मर्मत अनियमित, र नियमन कमजोर ।” विमानस्थल निर्माणमै ठूलो भ्रष्टाचार छ र, यही कमजोरीले दुर्घटनाको चक्र दोहोरिँदैछ ।

मौनता र ढिलासुस्ती
“संसदीय समितिले स्पष्ट लेखेको थियो —‘एक महिनाभित्र न्यायिक छानबिन समिति गठन गर ।’ तर आज २ महिना भन्दा बढी समय भयो । सरकारले समिति बनाउन सकेको छैन ।” “सुशासनका नारा टाँगिएका छन्, तर पीडितका आवाज कागजमै बाँधिएका छन् ।”

अनुसन्धान
“हामीले सातवटा दुर्घटनाको प्रतिवेदन पल्टायौं । कतै महानिर्देशकको हस्ताक्षर हराएको थियो, कतै आयोग सदस्य आफ्नै नातेदार देखिए ।” “प्राधिकरणले आफ्नै सेफ्टी विभागका व्यक्तिलाई ‘निष्पक्ष जाँचकर्ता’ बनाएर राखेको थियो । कतै भ्रष्टाचार गर्नकै लागि विमानस्थलहरु बनाएको भेटिए । यो नै कारण हो —हरेक प्रतिवेदन दोष मरेका मान्छेमाथि मात्र सकिन्छ ।” तर यथार्थ भने अझै पनि खुला आकाशमा हराइरहेको छ ।

अन्तिम मर्म
त्यो तीन वर्षको अधिराज आज बाँचिरहेको भए, सायद सोध्थ्यो —‘मलाई किन सौर्य एयरलाइन्सको कर्मचारी बनायौ ?’
त्यो प्रश्न अझै उस्तै छ —‘किन न्यायिक छानबिन समिति बनाइँदैन ?’
के नेपालमा हवाई सुरक्षा भन्दा पनि भ्रष्टाचार र राजनीतिक सुरक्षा ठुलो छ ?
पाँच वर्ष, सात दुर्घटना ।
एक सय २३ जनाको मृत्यु ।
अझै पनि कुनै न्याय छैन ।
जबसम्म भ्रष्टाचार सत्यमाथि भारी रहन्छ, नेपालको आकाश सधैं कालो धुवाँले ढाकिरहन्छ ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।