विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी?
काठमाडौंको आकाश बिहान सफा थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान—अवतरणको चाप बढिसकेको थियो। डोमेस्टिक टर्मिनलको प्रतीक्षालयमा यात्रु खचाखच हुँदै थिए। बुद्ध एयर, यति एयरलाइन्सका नियमित उडानहरु डिले हुन थालिसकेका थिए। बिहानको ८:१५ जस्तो भएको थियो। नेपाली सेनाको युनिफर्म लगाएका एक जनासहित ६ पुरुष चढेको जीप विमानस्थल उत्तरतर्फको पार्किङमा पुग्यो। उनीहरू सबै हेलिकोप्टरमा चढे।
बिहान ८ बजेर ३१ मिनेट हुँदा पाइलटले हेलिकोप्टर धावनमार्गबाट अघि बढाए। माथिल्लो भागको ब्लेड अर्थात मेन रोटरको घुम्ने गति बढ्यो। पुच्छरतिरको रोटर पनि एकै साथ तीब्र गतिमा घुम्दा चर्को आवाज निस्कियो, घुइँँइँइँ…इँ।
‘कल साइन नम्बर ९ एन एएमआई हेलिकोप्टर यहाँ काठमाडाैंबबाट उडेको छ। यो चाटर्ड उडानमा भीआईपी सवार छन्’, बिहान ८:३१ बजे काठमाडौंस्थित विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले अन्य टावरलाई जानकारी दिए।
यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको समयको कुरा हो। धावनमार्ग, टर्मिनल, भवन संरचना निर्माण भइरहेको समयको कुरा हो। छिटै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य पूरा हुनेमा पोखराबासी ढुक्क थिए। खुशी थिए। नहुन् पनि किन, उनीहरूको ५० वर्षको सपना साकार हुँदै थियो। पर्यटन व्यवसायी व्यापार बढ्ला भनेर प्रशन्न देखिन्थे। दलालहरूले विमानस्थ पायक पर्ने ठाउँमा जग्गाको भाउ पहिलै बढाइसकेका थिए।
तर त्यो दिन बिहान भीआईपी सवार हेलिकोप्टरको गन्तव्य पोखरा थिएन। हेलिकोप्टरले जमिन छोड्यो र एक फन्को घुमेर पूर्वतर्फ लाग्यो।
२०१९ फेब्रुअरी २७ बुधबार बिहान उडेको सिंगल इन्जिन त्यो हेलिकोप्टर एयर डाइनेस्टीको थियो। र एटीसीले भीआईपी भनेका ती व्यक्ति तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी थिए। नेपाली सेनाको युनिफर्म लगाउने उनका अंगरक्षक जमदार अर्जुन घिमिरे थिए। तुलनात्मक रुपमा थोरै मात्र तेल खपत गर्ने यो हेलिकोप्टर ताप्लेजुङको पाथिभरा नजिकै भिरमा ठोक्किएर दुर्घटनामाग्रस्त भयो। अधिकारी, घिमिरे र नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठसहित ७ जनाले ज्यान गुमाए। मिलनसार स्वभावका सहकर्मी गुमाएको त्यो घटना सम्झेर अहिले पनि प्राधिकरणका कतिपय कर्मचारी स्तब्ध हुन्छन्। पूर्व निर्धारित योजनाअनुसार नै उनी ताप्लेजुंग गएका हुन् वा कसैको दवाबले अन्तिम समयमा टोलीमा स्थान पाएका हुन्? सिनामंगल र बबरमहलतिर कानेखुशी गर्नेहरूसँग यसको जवाफ छैन।
पूर्वमा दुर्घटना, पश्चिममा जग्गा पास
सार्फन एरियल टू-डी इन्जिन भएको त्यो हेलिकोप्टर दुर्घटना भएको मिति वि.सं. २०७५ फागुन १५ गते बुधबार थियो। मन्त्रीको टोलीमा नभएका नेपाल नागरिक उड्डयन प्राधिकरणका राष्ट्रिय गौरव आयोजना हेर्ने निर्देशक प्रदीप अधिकारी त्यो दिन बबरमहलस्थित प्राधिकरण कार्यालयमा थिएनन्। तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल परियाजनाका प्रमुख उनी विभागीय मन्त्रालय वा खुमल्टारस्थित घरमा पनि थिएनन्।
नेपालग्राउन्डजिरोले प्राप्त गरेका कागजातअनुसार उनी त्यो दिन जग्गा कारोबारका लागि चितवनमा थिए।
जिल्ला मालपोत कार्यालयमा भएको तथ्यांक रेकर्डअनुसार उनले त्यही दिन खैरहनी नगरपालिकाका जग्गाहरु खरिद गरे। सामान्य पारिवारिक पृष्ठभूमिका उनको आयस्रोत भनेको ऐन, नियमका दफाअनुसार पाउने सरकारी तलब, भत्ता हो। त्यो दिन उनले एउटा, दुई वटा होइन ६ वटा जग्गा पास गरेर आफ्नो नाममा ल्याए। लालपुर्जाहरुले देखाएअनुसार अधिकारीले त्यो दिन कूल ४४७३.२५ वर्गमिटर जग्गा पास गरेर आफ्नो नाममा ल्याएका छन्। सरकारी रेकर्डमा वर्गमिटर इकाइमा राखिए पनि चितवनको जनबोलीमा बिघा, कट्ठाको इकाइ चल्तीमा छ। त्यसअनुसार भन्दा अधिकारीले किनेको जग्गा १४ कठ्ठा ३ धुर हुन आउँछ।
सरकारी दररेटअनुसार अहिले त्यो जग्गालाई करिब ६ करोड पर्ने भूमिसुधार कार्यालयका कर्मचारीहरु बताउँछन्। चितवन मालपोत कार्यालयका कर्मचारीका अनुसार किनबेच गर्दा कर छल्नका लागि सरकारी रेटभन्दा फरक पारेर समेत कारोबार हुनेगर्छ। कर तिर्दा सरकारी रेट देखाए पनि कुनै ठाउँमा जग्गाको मूल्य सरकारी रेटभन्दा ६—७ गुणासम्म बढी पर्ने उनीहरु बताउँछन्।
*प्रदीप अधिकारीलाई केन्द्रमा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रस्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन जारी राखेको छ। उनीविरुद्ध पोखरा विमानस्थलसँग सम्बिन्धित करिब १ सय ५० उजुरी रहेको अख्तियार स्रोतको दाबी छ। अन्य प्रकरणमा परेका उजुरी छुट्टै छन्। नेपालग्राउन्डजिरोसँग रहेका कागजातबाट एउटा प्रसंग मात्रै हेर्दा पनि १ अर्ब ६ करोड रूपैयाँ भन्दा बढीको अनियमितता भएको देखिन्छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएमसी इन्जिनियरिङ कम्पनीबीच सन् २०१४ मा विमानस्थल निर्माणको सम्झौता भएको थियो। सम्झौतामा विमानस्थलमा ५ किलोमिटर टाढाबाट माटो, ग्राभेल ल्याएर भर्नुपर्ने प्रावधान छ। त्यसो गरेको भए विमानस्थल अहिलेभन्दा केही अग्लो हुने थियो। पूर्ण क्षमतामा न्यारोबडी जहाज उडान अवतरण गर्न सक्ने थिए। तर सववेस (ढुंगा, माटो र गिट्टी) बाहिरबाट ल्याइएन। त्यसका लागि छुट्याइएको १ अर्ब ६ करोड २२ लाख रुपैयाँ (८० लाख अमेरिकी डलर) कहाँ पुग्यो रहस्यमै छ। नेपालग्राउन्डजिरोले प्राप्त गरेका कागजातमध्ये अपारदर्शिता र अनियमितताको यो केवल एउटा उदाहरण मात्र हो।
महानिर्देशक अधिकारी पोखरा विमानस्थल निर्माण गरिँदा अयोजना प्रमुख थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन रहँदा अधिकारीले चितवनमा मात्र होइन काठमाडौं उपत्यकामा पनि जग्गा खरिद गरेका प्रमाणहरु नेपालग्राउन्डजिरोले प्राप्त गरेको छ। विमानस्थल निर्माण कार्य चलिरहँदा उनले ललितपुरको इमाडोलमा २०७८ असार २४ गते तीन कित्ता जग्गा किनेका हुन्।
रत्नपार्कबाट करिब ९ किलोमिटर दूरीमा रहेको इमाडोलमा सडक र यातायातको राम्रो सुविधा छ। इमाडोल र रिङरोड जोडिने ठाउँमा ट्राफिक जाम धान्न नसक्ने भएपछि अहिले त्यहाँ फ्लाइओभर निर्माण भइरहेको छ। प्रतिष्ठित रियल स्टेट मार्केटप्लेस नेपालहोम्स डट कमका अनुसार घर, जग्गाको कारोबार र मूल्यका लागि इमाडोल अहिले बुढानिलकण्ठभन्दा भाइब्रेन्ट ठाउँ हो। पोखरामा विमानस्थल बनिरहँदा प्रदीप अधिकारीले त्यही ठाउँमा ३ कित्ता जग्गा एकै दिन किनेका हुन्।
लालपूर्जाको विवरणअनुसार उनले २०७८ असार २४ गते इमाडोलमा ५ सय ३० दशमलव २५ वर्गमिटर जग्गा खरिद गरेका छन्। काठमाडौं उपत्यकामा रोपनी, आना इकाइ जनस्तरमा चल्तीमा छ। यो इकाइबाट जग्गा नाप्ने हो भने पोखरा विमानस्थल निर्माण चलिरहँदा उनले इमाडोलमा एक दिनको जग्गा मात्र १ रोपनी १ आना हुन आउँछ।
ललितपुर जिल्ला मालपोत कार्यालयका कर्मचारीका अनुसार सरकारी दररेट अनुसार सो जग्गाको मूल्य २ करोड जति पर्न आउँछ। यो सरकारको रेट मात्र हो। घरजग्गा व्यवसायी, लेखापढी पेशामा संलग्न एवं भूमिसुधार कार्यालयका कर्मचारी सबै जना भन्छन्, ‘काठमाडाैं उपत्यकामा सरकारले तोकेभन्दा ७—८ गुनासम्म बढी रेटमा कारोबार भइरहेको हुन्छ। धेरै पैसामा किनबेच गरे पनि कर नतिर्न वास्तविक मूल्य देखाइँदैन। ’कर्मचारीले सरकारी रेटअनुसार २ करोड हाराहारी भने पनि चलनचल्तीको रेटअनुसार इमाडोलमा १ रोपनी १ आना जग्गाको मूल्य करिब १० पर्न जाने घरजग्गा व्यवसायी बताउँछन्।
पोखरा अन्तर्ष्ट्रिय विमानस्थल निर्माणाधीन रहँदा अधिकारीले चितवन र ललितपुरमा किनेका जग्गाका फरक-फरक लालपुर्जाकाे प्रतिलिपी हेर्न लागि माथिको भिडियो क्लिक गर्नुहोस्।
**महानिर्देशक अधिकारीको भनाइ
हामी दृढ छाैँ
**प्राधिकरण महानिर्देशक अधिकारीले खण्डनमा उल्लेख गरेका विषयमा भन्नुपर्दा प्रकाशित समाचारको सुक्ष्म डिटेलिङसहित सम्पूर्ण तथ्यहरूको सत्यतामा हामी अडिग छाैँ।
*यसअघिको समाचारमा पोखरा विमानस्थल निर्माणाधीन भन्ने तथ्य आधा मात्र प्रकाशित भएकोमा सच्याएका छौँ। यसबाट हाम्रा अडियन्समा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ। (LATEST UPDATE: 21:47 Monday, February 19, 2024) GMT+5:45
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।