
Ground Zero
November 27, 2026

रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकामा १ करोड ८९ लाख ६७ हजार २ सय ६० रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात पेश नै नगरेर ३ लाख ८ हजार १ सय ८८ रुपैयाँ खर्च गरेको छ ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुमा यस वर्ष थपिएपछि कुल अद्यावधिक बेरुजु ३४ करोड २७ लाख ४५ हजार रुपैयाँ पुगेको छ। गाउँपालिकाको १ अर्ब १४ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र खरिद नियमावलीको व्यापक धज्जी उडाएको पाइएको छ।
विद्युतीय पोल र तार जडानजस्तो एकीकृत कार्यक्रममा प्रतिस्पर्धा सीमित गर्न र पारदर्शीता लुकाउन बजेटलाई टुक्रा-टुक्रा पारी ७ वटै वडामा सोझै दरभाउपत्रमार्फत खरिद गरी ४३ लाख २ हजार रुपैयाँ अनियमितता गरिएको छ। जडान गरिएका ट्रान्सफर्मर र अन्य सामग्रीको परीक्षणसमेत गरिएको छैन।
स्थानीय सरकार सञ्चालन ऐन विपरीत दरबन्दीबाहेक ७ वटै वडा कार्यालयमा कम्प्युटर अपरेटरका नाममा मासिक ज्यालादारीमा कर्मचारी नियुक्त गरी २० लाख १६ हजार रुपैयाँ तलब भत्ता बाँडिएको छ।
त्यस्तै, सार्वजनिक खरिद कानुनको बेवास्ता गर्दै विभिन्न गैरसरकारी निकायमार्फत गरिएका कार्यमा ४५ लाख ३ हजार रुपैयाँ नियमविपरीत खर्च गरिएको छ। बैंक ग्यारेन्टीसमेत नलिई गैरसरकारी संस्थालाई सोझै ५ लाख रुपैयाँ पेस्की बाँडिएको पाइएको छ।
शिक्षा विभागको कार्यविधि विपरीत क्याम्पस र सामुदायिक विद्यालयहरूमा ७५ लाख १ हजार रुपैयाँ अनुदान निकासा गरिएको छ। संघीय सरकारअन्तर्गत रहेको र उपभोक्ता समितिलाई हस्तान्तरण गर्न नमिल्ने ओडवलिया प्रहरी चौकीभित्र प्रतिक्षालय भवन निर्माण गर्न उपभोक्ता समिति गठन गरी १ लाख ४४ हजार रुपैयाँ भुक्तानी दिइएको छ।
सार्वजनिक स्रोत र बजेटमाथि भएको यो मनपरी र कानुनी उल्लङ्घनले स्थानीय तहमा वित्तीय अनुशासन र सुशासनको खिल्ली उडाएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।