Skip to main content
आइतबार, ०६ मंसिर २०८३

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा १ करोड ६२ हजार रुपैयाँको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 22, 2026


रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकामा १ करोड ६२ हजार ९ रुपैयाँको अनियमितता भएको छ भने बेरुजु फछ्र्योट र थप रकमसहित हाल कुल अद्यावधिक बेरुजु २६ करोड २० लाख ७९ हजार रुपैयाँ पुगेको छ।

गाउँपालिकाको १ अर्ब २४ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र खरिद मापदण्डको धज्जी उडाएको पाइएको छ।

स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐनविपरीत गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले पाउनुपर्ने भन्दा धेरै बढी अर्थात् १४४० लिटरको सट्टा ४१४२ लिटर डिजेल र अन्य कर्मचारीले पाउनेभन्दा बढी इन्धन सुविधा लिएका छन्। यसरी मापदण्डविपरीत इन्धनमा ५ लाख ७३ हजार रुपैयाँ गैरकानुनी रूपमा खर्च गरिएको छ।

ऐनमा व्यवस्थै नभए पनि पदाधिकारीहरूले योजना अनुगमनका नाममा ६ लाख ८५ हजार रुपैयाँ भत्ता बुझेका छन्। स्थानीय पाठ्यपुस्तक निर्माणका लागि आसमान नेपालसँग गरिएको सम्झौतामा कर बीजक नै बेगर १ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै सिँचाइ मोटर, पम्पसेट र पाइप खरिदमा प्रतिस्पर्धा सीमित गर्न प्याकेज नबनाई टुक्रा-टुक्रा पारेर सोझै खरिद गरियो। प्रतिस्पर्धाबाट खरिद गर्दा सस्तो पर्ने यी सामग्रीहरू सोझै किन्दा ७२ लाख ९१ हजार रुपैयाँ अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ।

शर्तअनुसार तराईमा १० कट्ठा जग्गा भएको लाभग्राहीलाई ५० प्रतिशत मात्र अनुदान दिनुपर्नेमा कार्यविधिको उल्लङ्घन गर्दै कार्यपालिकाको निर्णयका आधारमा शतप्रतिशत अनुदान दिँदा ११ लाख ३५ हजार रुपैयाँ बढी भुक्तानी भएको छ।

त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रममा निर्देशिकाविपरीत दक्ष कामदारको दर जोडेर र नापी किताबको सट्टा हाजिरीको भरमा ज्याला भुक्तानी गर्दा १ लाख ७६ हजार रुपैयाँ थप व्ययभार पारेर राज्यको कोष दुरुपयोग गरिएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।