Skip to main content
बुधबार, ०२ मंसिर २०८३

अछामको चौरपाटी गाउँपालिकामा १ करोड ५२ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 18, 2026


अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा १ करोड ५२ लाख २९ हजार ९ सय ५७ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात नै पेश नगरेर ९९ लाख ६० हजार ४ सय ८६ रुपैयाँ खर्च गरको हो ।

महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुमा यस वर्ष ३ करोड १० लाख ११ हजार रुपैयाँ थपिएपछि कुल अद्यावधिक बेरुजु २२ करोड ३८ लाख ४६ हजार रुपैयाँ पुगेको छ।

गाउँपालिकाको १ अर्ब १६ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र खरिद नियमावलीको गम्भीर उल्लङ्घन भएको पाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधि विपरीत स्वीकृत दरबन्दी बाहेकका न्यायिक सल्लाहकार र सामाजिक परिचालकहरू नियुक्त गरी ८ लाख ७१ हजार रुपैयाँ तलब-भत्ता बाँडिएको छ।

छनोटको आधार र मापदण्डबिना नै नाफामूलक संस्थाको रूपमा सञ्चालित सान्नीकोट बचत तथा ऋण सहकारी संस्थालाई १ लाख रुपैयाँ नगद अनुदान वितरण गरिएको छ।

सवारी साधन भाडामा लिँदा सार्वजनिक खरिद नियमावलीको धज्जी उडाउँदै प्रतिस्पर्धाबिना, पटके रूपमा र प्रयोजनसमेत नखुलाई ३ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरिएको छ। त्यस्तै, १ लाखभन्दा बढीको सवारी मर्मत खर्चमा कोटेशन र प्रतिस्पर्धाबिना नै १ लाख ३७ हजार रुपैयाँ सोझै भुक्तानी दिइएको छ।

नमुना विद्यालय भौतिक निर्माणको शीर्षकमा आएको बजेटबाट नियम विपरीत विभिन्न कर्मचारी तथा पदाधिकारीहरूलाई दैनिक भ्रमण भत्ता भन्दै १ लाख १५ हजार रुपैयाँ बाँडिएको छ।

प्राविधिक मूल्याङ्कन गरी भुक्तानी दिइसकेपछि कुनै पनि कानुनी आधारबिना निर्माण व्यवसायीहरूको बैंक खाता रोक्का राख्ने जस्ता लापरबाहीपूर्ण कार्यमा १ करोड १ लाख ३६ हजार रुपैयाँ अनियमित देखिएको छ।

त्यसैगरी, सडक मर्मत तथा कटिङका लागि इन्धन खरिद गरिए पनि कुन-कुन सडकमा र कसरी काम भयो भन्ने कुनै पनि प्राविधिक मूल्याङ्कन, लागत अनुमान र प्रमाणबिना नै ३४ लाख ७३ हजार रुपैयाँ पुँजीगत खर्चबाट उडाइएको छ। राज्यको स्रोत र सार्वजनिक सम्पत्तिमाथि भएको यो मनपरीले स्थानीय तहमा वित्तीय अनुशासनको खिल्ली उडाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।