
Ground Zero
November 6, 2026

ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु सहित ५ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ९ मा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु ओम बहादुर दर्जी, अभय कुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एम.आई. एस अपरेटर खिला वि.क. र वडा नं. ९ का वडा अध्यक्ष शुकविर तामाङविरुद्ध अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
लिखु गाउँपालिका-९ का तत्कालीन वडा अध्यक्ष शुकविर तामाङले विभिन्न व्यक्तिको नाममा आफ्नै दायाँ हातको बुढी औंलाको ३६० वटा थान औंठाछाप प्रयोग गरी २९ लाख १५ हजार दुई सय रुपियाँ भुक्तानी लिएको पाइएको छ ।
भत्ता वितरण नामावलीमा दोहोरो नाम राखी रकम वितरण गरिएको देखाउनुका साथै मृत्यु भइसकेका र बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीहरूको लगत कट्टा नगरी रकम वितरण गरिएको झूटो विवरण पेस गरिएको छ। गलत विवरण र अभिलेखका आधारमा पेस्की फछ्यौट गरी जम्मा ३१ लाख ६७ हजार दुई सय रुपियाँ हानिनोक्सानी तथा हिनामिना भएको आयोगले जनाएको छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।