
Ground Zero
November 5, 2026

दैलेख जिल्लाको चामुण्डा विन्द्रसैनी नगरपालिकामा २ करोड ५५ लाख ६४ हजार ८ सय १३ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात नै पेश नगरेर ४ करोड ३४ लाख ५० हजार ५ सय ५४ रुपैयाँ झ्वाम पारेका छन् ।
महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुमा यस वर्ष ९ करोड १२ लाख २९ हजार रुपैयाँ थपिएपछि कुल अद्यावधिक बेरुजु ४७ करोड ४१ लाख ४६ हजार रुपैयाँ पुगेको छ।
नगरपालिकाको १ अर्ब ८ करोड रुपैयाँको कुल आय-व्यय परीक्षण गर्दा कानुन र खरिद नियमावलीको धज्जी उडाएको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन विपरीत कानुन अधिकृत, कम्प्युटर अपरेटर र प्राविधिकलगायत दरबन्दी नभएका पदमा करार तथा ज्यालादारी राखेर ८४ लाख २७ हजार र समग्रमा करार कर्मचारीका नाममा २ करोड ४६ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ।
सडक निर्माणमा सडक विभागको नर्म्सविपरीत लागत अनुमानमा फेरबदल गरी ९ लाख २३ हजार रुपैयाँ थप व्ययभार पारेर भुक्तानी दिइएको छ। त्यस्तै, प्रतिस्पर्धाबिना र नियम विपरीत १९ लाख ७५ हजार रुपैयाँका मोटरसाइकल खरिद गरिएको छ भने अघिल्लो आर्थिक वर्षको ७ लाख ५२ हजार रुपैयाँ मोटरसाइकलको बाँकी बक्यौता गैरकानुनी रूपमा भुक्तानी गरिएको छ।
वोलपत्रको माध्यमबाट गर्नुपर्ने कामहरूमा नियम मिचेर ८८ लाख ९१ हजार रुपैयाँको काम पटक-पटक कोटेशनमार्फत सोझै खरिद गरिएको छ। नदीजन्य पदार्थको बिक्रीमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर कायम गरी राजस्व चुहावट गरिएको छ।
दलित लक्षित कार्यक्रमका नाममा कार्यपालिका सदस्यलाई १ लाख ५० हजार रुपैयाँ सोझै दिएर नियमविपरीत खर्च गराइएको छ भने नाफामूलक सहकारी र फर्महरूलाई ७ लाख ३६ हजार रुपैयाँ अनुदान बाँडिएको छ।
वन हेरालु, माली र ज्यालादारी कर्मचारीका नाममा १४ लाख १४ हजार रुपैयाँ र प्राविधिक कर्मचारीलाई गैरकानुनी रूपमा ६ लाख ८४ हजार रुपैयाँ फिल्ड भत्ता बाँडिएको छ। सवारीसाधनको समयमा नवीकरण नगर्दा जरिवानाबापत थप आर्थिक भार पार्नेदेखि गाउँपालिकाको कोषबाट मनपरी ढङ्गले कागजातबिनै बजेट सिध्याउने क्रम रोकिएको छैन।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।