Skip to main content
बुधबार, १८ कात्तिक २०८३

दैलेखको भगवतिमाइ गाउँपालिकामा १ करोड ११ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

November 3, 2026


दैलेख जिल्लाको भगवतिमाइ गाउँपालिकामा १ करोड ११ लाख ९५ हजार ५ सय ३१ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात नै पेश नगरेर ४६ लाख २५ हजार ४ सय ६० रुपैयाँ खर्च गरहेका हो ।

गाउँपालिकाको कूल १ अर्ब ६ करोड ५२ लाख ७४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा योसँगै गाउँपालिकाको कुल अद्यावधिक बेरुजु १५ करोड ५३ लाख ३७ हजार ६ सय ३२ रुपैयाँ पुगेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था विपरित गाउँपालिकाले गैरकानुनी रूपमा १० जना कर्मचारीलाई करारमा राखी वार्षिक ४४ लाख ८० हजार ४७ रुपैयाँ भुक्तानी गरेको छ। त्यसैगरी, प्रदेश कानुनमा कुनै व्यवस्था नहुँदा नहुँदै ११ जना कर्मचारीलाई भ्रमण भत्ताका साथै ९ लाख ९९ हजार ६०० रुपैयाँ नियमविपरीत फिल्ड भत्ता बाँडिएको छ।

साझा सार्वजनिक खरिद नियमावली र सार्वजनिक लेखा समितिको निर्णयलाई धज्जी उडाउँदै पालिकाले निर्माण कार्य र पूर्वाधारका ठेक्कामा असम्बन्धित मोटरसाइकल खरिदका शीर्षक घुसाएर ठेकेदारहरूलाई भुक्तानी दिएको छ। कालिका–रेगन–रेसुङ्गा जे.भी.लाई पल्सर मोटरसाइकल बापत ३ लाख ९५ हजार ५०० रुपैयाँ, सडक स्तरोन्नति ठेक्कामा टीभीएस एपाचे मोटरसाइकल बापत ४ लाख ३५ हजार०५० रुपैयाँ र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आरटीआर १६० सीसी मोटरसाइकल बापत ३ लाख १४ हजार १४० रुपैयाँ गैरकानुनी भुक्तानी गरिएको छ।

यसैगरी, ब्याक हु लोडर खरिद गर्दा कानुनी प्रक्रिया र दररेटको आधार नखुलाई एकमुष्ट ४४ लाख ४४ हजार ४४४ रुपैयाँ लागत अनुमान स्वीकृत गरी अनियमितता गरिएको छ। सामुदायिक विद्यालयको पुस्तकालय र प्रविधि सुदृढीकरणका लागि निकासा भएको ६ लाख रुपैयाँ अनुदान रकम विद्यार्थीको हितमा खर्च नगरी विद्यालयका प्रअ, जनप्रतिनिधि र समितिका पदाधिकारीसहित ३८ जना पोखरा भ्रमणमा जाँदा मिति नै नमिल्ने शंकास्पद बिलभर्पाई पेश गरी १ लाख २६ हजार ७५० रुपैयाँ अनियमित खर्च लेखिएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।