Skip to main content
शनिबार, २४ असोज २०८३

दोलखाको बैतेश्वर गाउँपालिकामा ९८ लाख ९५ हजारको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 9, 2026



दोलखाको बैतेश्वर गाउँपालिकामा नियम, कानुन र वित्तीय अनुशासनको ठाडो उल्लङ्घन गर्दै ९८ लाख ९५ हजार ७९३ रुपैयाँको अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेश नगरी ९२ लाख ३४ हजार १३४ रुपैयाँ मनपरी खर्च गरेर राज्य कोषको दोहन गरिएको छ!
स्थानीय तहमा सुशासन र वित्तीय अनुशासनको नारा घन्किइरहँदा दोलखाको बैतेश्वर गाउँपालिकामा भने गैरकानुनी खर्च र बेथितिको सीमा नाघिएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार यसवर्ष थपिएको २ करोड ६६ हजारसहित पालिकाको कुल अद्यावधिक बेरुजु २१ करोड ४२ लाख ६५ हजार रुपैयाँ पुगेको छ
कार्यक्षेत्र बाहिर गएर भक्तपुरको सिपाडोलमा घर भाडामा लिई १ लाख ८४ हजारभन्दा बढी रकम भुक्तानी गरियो भने सवारी साधन भाडा र विपद् सामग्री खरिदको रकमसमेत फरक शीर्षकबाट खर्च गरेर २ लाख २९ हजारको नियम विपरीत बजेट उडाइयो।
वडा नम्बर ८ मा स्ट्रक्चरल एनालाइसिस नै नगरी र तीन वटा फरक उपभोक्ता समिति गठन गरेर स्वास्थ्य चौकी भवन निर्माणका नाममा ७६ लाख ८२ हजार रुपैयाँ नियमविपरीत खर्च गरियो।
उमेर हद नाघिसकेका कर्मचारीलाई थप एक वर्ष सेवामा राखी ५ लाख ५६ हजारभन्दा बढी तलब भत्ता बाँडियो भने कानुनी व्यवस्था नै नभएको अनुगमन भत्ताका नाममा २ लाख १२ हजार रुपैयाँ भुक्तानी गरियो।
मापदण्ड अनुसार २५ जनाभन्दा कम विद्यार्थी भएका विद्यालयमा तोकिएभन्दा बढी बालविकास सहजकर्ता राखेर ४ लाख १० हजारको अतिरिक्त व्ययभार पारिएको छ।
यस्तै, शैक्षिक गुणस्तर अनुदानको ५ लाख ७७ हजार रकम अर्कै शीर्षकमा खर्च गरिनुका साथै स्यानिटरी प्याड खरिद शीर्षकबाट कानुन विपरीत गाडी भाडा र खाजामा ४३ हजार रुपैयाँ उडाइयो।
सार्वजनिक खरिद ऐन र वित्तीय उत्तरदायित्वको धज्जी उडाउँदै गरिएको यो मनपरीले बैतेश्वर गाउँपालिकामा सुशासनको गम्भीर धज्जी उडाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।