
Ground Zero
September 26, 2025

२०८१ साउन ९ गते, सौर्य एयरलाइन्सका यात्रुका लागि कहिल्यै नबिर्सने दिन बन्यो । काठमाडौंबाट पोखरा जाने क्रममा विमान दुर्घटना हुँदा १९ मध्ये १८ जनाको ज्यान गयो । तर, यो दुर्घटनापछि बनेको सरकारी जाँचबुझ आयोगको प्रतिवेदनले मृतक को–पाइलट सुशान्त कटुवाललाई मुख्य दोषी ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सलाई निर्दोष देखाएको छ । पीडित परिवारका लागि यो प्रतिवेदन घाउमाथि नुन छर्किने काम भयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित पाँच सदस्यीय आयोगले प्रतिवेदन सार्वजनिक गर्दै जहाज बिग्रिएको वा प्रणालीगत त्रुटि भएको कुरा खारेज गर्दै दोष को–पाइलटमाथि लगाएको हो । सुशान्त कटुवालको परिवार भने यसलाई पूर्ण अस्वीकार गर्छ ।
भक्तपुरमा रहेका सुशान्तका बुवा–आमाले अझै पनि छोराको मृत्युको पीडा बोकिरहेका छन् । आमा भक्कानिँदै भन्छिन्, “जहाज बिग्रेको थियो, तर दोष छोरामाथि लगाइयो । मेरो छोरो को–पाइलट थियो, जहाजको कमाण्ड त पाइलटको हातमा हुन्छ । किन निर्दोष छोरालाई दोष लगाइयो ?”
परिवार भन्छ, आयोगले सत्यतथ्य लुकाएर एयरलाइन्स र प्राधिकरणलाई जोगायो । “हामी अझै न्यायको प्रतीक्षा गर्दैछौं । दोषीहरूलाई कारबाही होस्, हाम्रो छोराको नाममाथि लागेको कलंक मेटियोस्,” बुबाको माग छ ।
यस घटनाले नेपालमा हुने विमान दुर्घटनाको छानबिनको निष्पक्षता र पारदर्शिता प्रश्नको घेरामा ल्याएको छ । बिग्रेको जहाजमा उडान अनुमति दिने प्राधिकरणको जिम्मेवारी किन ख्याल गरिएन ? किन आयोगमा आफन्त र अयोग्य व्यक्तिहरूलाई राखियो ? यी प्रश्न अझै खुला छन् ।
पीडित परिवारले सरकारले पुनः छानबिन गर्नुपर्ने र वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने माग गरेका छन् । यस दुर्घटनाले प्रष्ट पारेको छ कि केवल प्रतिवेदनले मात्र न्याय हुँदैन — पारदर्शिता, निष्पक्षता र पीडितको पीडालाई सम्बोधन गर्ने निर्णय आवश्यक छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।