
Ground Zero
October 16, 2026

सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित गोरखा, धादिङ र बागलुङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार प्रभावित परिवारले निजी रूपमा अस्थायी बसोबास गर्दा अधिकतम छ महिनाका लागि प्रतिपरिवार मासिक रु. १५ हजार (चार जनासम्म) र सोभन्दा बढी सदस्य भए प्रतिसदस्य थप रु. दुई हजार राहत उपलब्ध गराइने छ।
बैठकले जापानबाट प्राप्त हुने २९८ मिलियन जापानी येन र जर्मनीबाट प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यसैगरी, आव २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. ४,१०७ तोकिएको छ। साथै, बिम्स्टेक पारवहन सम्झौता संसदमा पेस गर्ने, कालीमाटी तरकारी बजार गठन आदेश स्वीकृत गर्ने र फौजदारी कसूर ऐनका केही दफाहरू कात्तिक १५ देखि लागू गर्ने निर्णय पनि भएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।