
Ground Zero
October 16, 2026

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको नयाँ कार्यसमिति चयनका क्रममा छुटेका वा पराजित भएका सबैलाई समेटेर अघि बढ्ने बताउनुभएको छ।
बौद्धिक पेसाकर्मी अभियान परिषद्द्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यासको निरन्तर प्रक्रिया भएको स्पष्ट पार्नुभयो। उहाँले पार्टीभित्र जित्नेले सबै कुरा पाउने र हार्नेले सबै गुमाउने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिनुभयो।
पार्टीभित्र नेतृत्व चयनका लागि अपनाइएको निर्वाचन प्रक्रियाबाट धेरै महत्त्वपूर्ण सिकाइहरू प्राप्त भएको उहाँको भनाइ थियो। सबै सदस्यको समान अधिकार रहने उल्लेख गर्दै उहाँले सभापतिलगायतका नेतृत्वले आफ्ना व्यक्तिगत आचरण, कमजोरी र निर्णयको जिम्मेवारी स्वयं लिनुपर्ने स्पष्ट पार्नुभयो।
प्रतिनिधिहरूले नेतृत्व छान्ने मात्र नभई नीति निर्माणका प्रक्रियामा समेत सक्रिय सहभागिता जनाउनुपर्ने र यसले नै पार्टीलाई थप सुदृढ र बलियो बनाउने धारणा उहाँले व्यक्त गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।