
Ground Zero
October 7, 2026

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध हुन संस्थापनइतर समूहका नेताहरूलाई आह्वान गर्नुभएको छ। बुधबार खुल्लामञ्चमा आयोजित महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले अदालत धाउने काम छाडेर गुटबन्दीको अध्याय यहीँ अन्त्य गर्न आग्रह गर्नुभयो।
अदालतको आदेशअनुसार तोकिएको समयमा अधिवेशन गर्दा केही स्थानमा भएका त्रुटि र अन्यायलाई सच्याउने प्रतिबद्धता उहाँले जनाउनुभयो। पार्टीमा असहमति र प्रश्न गर्न पाइने भए पनि सबै जना पद्धति र अनुशासनमा बाँधिनुपर्ने उहाँको भनाइ थियो।
बन्दसत्रको समाप्तिसँगै सबै गुटबन्दी समाप्त भएको दाबी गर्दै थापाले अब कांग्रेस नयाँ विधि र पद्धतिबाट सञ्चालन हुने बताउनुभयो। युवा तथा नयाँ नेताहरूलाई समेट्न पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या थप गरिएको जानकारी दिँदै उहाँले पार्टीलाई सशक्त रूपमा अघि बढाउने स्पष्ट पार्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।