Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

शनिबार, २४ माघ २०८२

खोला सारेर व्यापार साम्राज्य निर्माण: टाटा मोटर्सको नेपाल वितरक सिप्रदीमाथि गम्भीर कानूनी प्रश्न

Ground Zero

January 28, 2026

सिप्रदी ट्रेडिङ प्रालिको ठीक बीचबाट बल्खु खोला बग्थ्यो । यो आरोप होइन । यो दाबी होइन ।
यो नापी विभागको नक्सा र फिल्ड बुकले पुष्टि गरेको तथ्य हो । आज त्यही ठाउँमा खोला छैन । कंक्रिट छ ।
भवन छन् र गाडीहरू पार्किङमा लाइनमा छन् । तर नक्सामा —बल्खु खोला अझै त्यहीँ बगिरहेको छ ।
यो भारतको बहुराष्ट्रिय कम्पनी टाटा मोटर्स लिमिटेडको नेपालका लागि एक मात्र आधिकारिक वितरक — सिप्रदी ट्रेडिङ प्रालिको व्यापारिक कम्पाउन्ड हो ।

खोला कसरी कब्जा भयो ?
ग्राउण्ड जिरोको पहिलो सिरिजमा हामीले देखाइसकेका छौं —सिप्रदीले कसरी बल्खु खोला मिच्यो । खोलाको प्राकृतिक बहाव परिवर्तन गर्यो र स्थानीय सर्वसाधारण नागरिकका आवाज कसरी बेवास्ता गरिए ।
आज — दोस्रो सिरिजमा हामी तपाईंलाई देखाउँदैछौं, सिप्रदीको दादागिरी पुष्टि गर्ने थप प्रमाणहरू ।

अब यी प्रमाणित नक्सा हेर्नुहोस्
यी कुनै सामाजिक सञ्जालका दाबी होइनन् । यी हुन् — नापी विभागका आधिकारिक नक्सा । साबिक सतुंगल क्षेत्रमा सिप्रदी ट्रेडिङ रहेको ठीक बीच भागबाट बल्खु खोला बगिरहेको थियो ।
नक्सामा स्पष्ट देखिन्छ —खोला, घुमाउरो स्वरूपमा । सिप्रदीको अहिलेको कम्पाउन्ड चिर्दै बग्थ्यो ।



नगरपालिकासम्म पुगेको प्रश्न
यी प्रमाण लिएर ग्राउण्ड जिरो चन्द्रागिरि नगरपालिकाको कार्यालय पुग्यो । हामीले सोध्यौं —के सिप्रदीले बल्खु खोला मिचेको हो ? चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी—सिप्रदीले बल्खु खोला मिचेको विषय नगरपालिकामा आएको छ । हामी त्यसबारे छानबिन गर्दैछौं । नगरपालिकाका प्रवक्ताले खुला रूपमा स्वीकार गरे —सिप्रदीले खोला मिचेको विषय नगरपालिकाको जानकारीमा छ । प्रवक्ता खड्गी अझै भन्छन् – खोलाको दायाँ र बायाँ कम्तीमा १०/१० मिटर खाली राखेर मात्रै संरचना बनाउन पाइन्छ । तर यहाँ खोला नै सारिएको भन्ने कुरा आएको छ । हामी त्यसको छानबिन गर्छौं । कानुन स्पष्ट छ । तर, व्यवहारमा — खोला नै सारिएको छ ।

नापी कार्यालय कलंकीमा के भेटियो ?
नगरपालिकाले ‘छानबिन गर्छौं’ भनेपछि ग्राउण्ड जिरो थप प्रमाण खोज्दै नापी कार्यालय कलंकी पुग्यो । त्यहाँ हामीले थाहा पायौं —बल्खु खोला सिप्रदीको कम्पाउन्डको बीच भागबाट नै बग्थ्यो । र, अहिले त्यही खोलामाथि सिप्रदी ट्रेडिङले दुई वटा पक्की घर निर्माण गरेको छ । नापी कार्यालय कलंकीका नापी अधिकृत योगेन्द्रकुमार यादव—नक्सा अनुसार बल्खु खोला सिप्रदीकै बीच भागबाट बग्थ्यो । अहिले ती खोलामाथि संरचना बनेको देखिन्छ । सिप्रदीले सतुंगलमा जग्गा खरिद गर्नु अघि खोलाको बहाव बीचबाटै थियो । अहिले भने खोला अगाडिको भागतर्फ सारिएको छ । नक्सा, फिल्ड बुक र नापीका अधिकारी — सबैको भनाइ एउटै छ । खोला सारिएको छ ।


कानूनी दस्तावेजले के भन्छ ?
अब कानून हेरौं ।
जग्गा (नाप जाँच) नियमावली, २०५८
परिच्छेद- २
अनुसूची १६ (२) र जग्गा नाप जाँच तथा नक्सा स्रेस्ता अद्यावधि सम्बन्धी निर्देशिका, २०८१
अनुसूची- ५ ।
दुवै कानूनले स्पष्ट भन्छन् —खोला, नदी, सार्वजनिक जलस्रोत कुनै पनि व्यक्तिले दर्ता गर्न पाउँदैन । र खोला सार्न पनि पाइँदैन । नापी कार्यालय कलंकीका प्रमुख सुदिप श्रेष्ठ— कानुनले खोला दर्ता गर्न नपाइने र सार्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर, सतुंगलमा कानुन कागजमा सीमित देखिन्छ ।

तीन रोपनी सार्वजनिक जग्गा
नापी नक्सा र फिल्ड बुकअनुसार बल्खु खोलाको करिब ३ रोपनी सार्वजनिक जग्गा सिप्रदी ट्रेडिङले
आफ्नो कम्पाउन्ड भित्र बिलीन गराएको देखिन्छ । यो निजी जग्गा होइन । यो सार्वजनिक खोला जग्गा हो ।

अब के हुनुपर्छ ?
कानून अनुसार —बल्खु खोला जहाँबाट बग्थ्यो, त्यहीँबाट फेरि बग्नुपर्छ । र, खोलामाथि बनाइएका सिप्रदीका दुई वटा संरचना भत्काइनु पर्छ । तर प्रश्न एउटै छ — के नगरपालिकाले साहस गर्छ ? हो, बुझ्नुभयो —कसरी भारतको बहुराष्ट्रिय कम्पनी टाटा मोटर्स लिमिटेडको नेपालका लागि एक मात्र आधिकारिक वितरक — सिप्रदी ट्रेडिङ प्रालिले सतुंगलमा बल्खु खोला सार्यो । कसरी ३ रोपनी सार्वजनिक जग्गा कब्जा गरियो । र, कसरी राज्यका निकाय आजसम्म मौन छन् ।
यो कथा एउटा खोलाको मात्रै होइन । यो कथा हो —कानुनमाथि ठूलो व्यापारिक शक्तिको दादागिरीको ।

थप स्टोरी :
कसरी बल्खु खोला निजी व्यापारिक कम्पाउन्डमा बिलीन भयो ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।