Ground Zero
January 15, 2026
काठमाडौंको पश्चिमी किनारमा, जहाँ एक दिन खोला बग्थ्यो । तर, आज यहाँ कंक्रिट छ । यो भारतको टाटा मोटर्स लिमिटेडको नेपालका लागि एक मात्र आधिकारिक वितरक — सिप्रदी ट्रेडिङ प्रालिको व्यापारिक कम्पाउन्ड हो र, यही कम्पाउन्ड भित्र नक्सामा अझै बगिरहेको एउटा खोला छ —बल्खु खोला ।
अहिले बगिरहेको बल्खु खोला
यो अहिले बगिरहेको बल्खु खोला हो । चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ११ र १४ छुट्याउने प्राकृतिक सिमाना । आज बल्खु खोला यहाँ सिधा बगेको देखिन्छ । कंक्रिटको पर्खालबीच ।
सानो, साँघुरो धार । तर, के बल्खु खोला सधैं यस्तै थियो ?
नक्साले देखाएको खोला
नापी विभागको आधिकारिक सर्वे नक्सा —२०२२ साल ।
यो नक्साले भन्छ —बल्खु खोला अंग्रेजी अक्षर ‘यू’ जस्तै घुमाउरो भएर आज सिप्रदी ट्रेडिङ रहेको
यही ठाउँबाट बग्थ्यो । नक्सा मात्र होइन —नापीको फिल्ड बुकमा पनि स्पष्ट लेखिएको छ —‘खोला’ ।
जहाँ आज व्यापार छ, त्यहाँ खोला थियो
आज जहाँ आयात गरिएका टाटा गाडीहरू लाइनमा राखिएका छन् । जहाँ ग्राहकले मर्मत र परीक्षणका लागि सवारी साधन छाड्छन् । जहाँ कर्मचारीका गाडीहरू पार्किङमा देखिन्छन् ।
त्यहीँ,
एक दिन बग्थ्यो —बल्खु खोला ।
सिप्रदी ट्रेडिङको व्यापारिक कम्पाउन्ड, गोदाम, कार्यालय र पर्खालभित्र घेरिएको यो पक्की प्रांगण —साबिक बल्खु खोलाकै जग्गामा बनेको हो ।
कति जग्गा गायब भयो ?
साबिक नयाँ नैकाप–२ को नक्सा र फिल्ड बुकअनुसार कित्ता नम्बर-२ मा परेको बल्खु खोलाको करिब
१,३०० वर्गमिटर क्षेत्रफल । अर्थात् करिब साढे २ देखि ३ रोपनी सार्वजनिक खोला, जग्गा, सिप्रदीले आफ्नो कम्पाउन्डमा बिलीन गराएको देखिन्छ ।
यो निजी जग्गा होइन । यो सार्वजनिक खोलाको जग्गा हो । त्यही भएर बल्खु खोला करिडोर पनि यीनैका कारण रोकिएको छ ।
खोला कसरी सारियो ?
नक्सा अनुसार घुमाउरो हुँदै दायाँ र बायाँ गरी बगेको साबिक बल्खु खोला । आज सिप्रदीको पूर्वतर्फ मूल गेटको अगाडि पर्नेगरी दक्षिणबाट उत्तर सिधै बगिरहेको छ ।
घुमाउरो खोला —सिधा नाली बनाइयो सिप्रदीले ।
स्थानीयको सम्झना
पहिलो खोला सिप्रदीको बीचबाट बग्थ्यो । पानी खाइन्थ्यो । मैले पनि खाएको छु । स्थानीय बासिन्दा सुदर्शन पन्त भन्छन् —२०५८ सालतिर त्यहाँ संरचना बन्न थाले । खोलालाई सारियो । हामीले आवाज उठायौँ । तर सुनुवाइ भएन । त्यो समय थियो —जब ठूलो व्यापारिक घराना सिप्रदी सतुंगल आइपुगेको थियो ।
शक्ति, राजनीति र मौनता
त्यो समय थियो —राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन । स्थानीयहरू भन्छन् —दरबारसँग नजिक मानिने व्यापारिक संस्था सिप्रदी शक्तिशाली थियो । खोला सारिँदा स्थानीय अगुवा, निर्वाचित जनप्रतिनिधि र प्रशासन —सबै मौन देखिए ।
नक्सा फेरियो, किन ?
२०६१ सालमा नापी विभागले तयार पारेको नयाँ नक्सा । पहिले देखिएको बल्खु खोलाको स्वरूप मेटिएको देखिन्छ ।
खोला सरेर नक्सा फेरियो ? कि नक्सा फेरिएर, खोला सरेको देखाइयो ? तर, पुराना नक्सामा बल्खु खोला जहाँबाट बग्थ्यो त्यही छ ।
कानुन के भन्छ ?
नाप जाँच ऐन, २०१९।
दफा ५(ग) स्पष्ट भन्छ — अतिक्रमण गरी भोग गरिएको साबिकमा सरकारी वा सार्वजनिक जग्गा
निजी हुँदैन।
पर्खाल लगाउँदैमा,
भवन बनाउँदैमा,
खोलाको जग्गा
कसैको हुँदैन।
सिप्रदीको मौनता
ग्राउण्ड जिरोले सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृतसँग प्रश्न गर्यो। तर, जवाफ आएन, प्रतिक्रिया आएन ।
यो कथा एउटा खोलाको मात्रै होइन।
यो कथा हो —
कानुन, नक्सा
र सार्वजनिक सम्पत्तिमाथि
शक्तिको अतिक्रमणको।
आज बल्खु खोला गायब भयो।
भोलि कुन खोला ?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।