
Subhak Mahato
November 7, 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — जहाँ जहाज आकाशमा होइन, गल्तीका पर्खालमा ठोक्किन सक्छ । रन-वे ३० बाट अवतरण असफल भयो भने जहाजलाई तुरुन्तै बायाँ मोडिनुपर्छ —तर बायाँतिर उभिएको छ ४ हजार फिटको ठाडो पहाड ।
दुई सेकेन्ड ढिलो भयो भने —जहाज, पाइलट र यात्रु, सबै पहाडसँग ठोक्किन्छन् । यो केवल प्राविधिक गल्ती होइन । यो भ्रष्टाचारको परिणाम हो । जब योजनामा इमान हराउँछ, तब विमानस्थल विकास होइन, दुर्घटनाको प्रतीक बन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — ३५ अर्बको योजना र भ्रष्टाचार १८ अर्ब । गल्ती आज ३५ अर्बकै ।
यो गल्ती केवल इन्जिनियरको होइन, यो निर्णयकर्ताको अपराध हो र त्यो नाम हो — प्रदीप अधिकारी । जसको हस्ताक्षरले ठेक्का पास भयो, डिजाइन स्वीकृत भयो र हवाई सुरक्षालाई कागजमा सीमित गरियो ।
सपना जसले दिशा हरायो
यो परियोजना सुरु हुँदा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको गौरवको प्रतीक भनियो । चीनको ऋण, ठूला वचन र राजनीतिक भाषणहरूबीच यो सपना उडानमा जानु पर्ने थियो । तर ३५ अर्बको त्यो सपना आज साढे तीन दर्जन गल्तीको चक्रव्यूहमा अल्झिएको छ । प्रधानमन्त्रीले उद्घाटनमा भनेका थिए —“अब पोखराबाट सिधै संसार पुगिन्छ।” तर आजको यथार्थ —पोखराबाट सिधै उडान सम्भव छैन। उडान रोकिएको छ, कारण — डिजाइन र भ्रष्टाचार ।
समितिको यात्रा
केपी शर्मा ओली नेतृत्वको सरकारले गठित “नागरिक उड्डयन सुधार उच्चस्तरीय समिति” वैशाख ११ र १२ गते पोखरा पुग्यो । समितिले अवतरण प्रणालीदेखि धावनमार्गसम्म अध्ययन गर्यो । प्रतिवेदनमा लेखिएको छ —“विमानस्थलको डिजाइनमा भौगोलिक जोखिमलाई बेवास्ता गरिएको छ।” समितिले स्थलगत अवलोकन गरेपछि लेख्यो —“यो विमानस्थलमा प्राविधिक चुनौतीहरू गम्भीर छन् र दीर्घकालीन विकासको वातावरण प्रतिकूल छ ।”
डिजाइनको गल्ती
पहिलो गल्ती — Missed Approach Climb Gradient । पोखरामा अवतरण असफल भएपछि विमानले कम्तीमा ५ प्रतिशत चढाइ गर्नैपर्छ। तर त्यो स्तरका विमानका लागि यो असामान्य कठिन मापदण्ड हो । परिणाम — यात्रु घटाउनुपर्छ, कार्गो घटाउनुपर्छ, उडान नाफामुखी होइन, घाटामुखी हुन्छ । जब विमानस्थलको डिजाइन नै गल्ती हुन्छ, तब उडान होइन — दुर्घटनाको सम्भावना बढ्छ ।
उज्यालोको सर्किटमा अन्धकार
दोस्रो गल्ती — Lighting System। धावनमार्गका बत्तीहरू सिरिज सर्किटमा जोडिएका छन् । एउटा बिग्रियो भने — सारा धावनमार्ग अन्धकार। समितिले लेखेको छ —“यी बत्तीहरू Parallel Circuit मा पुनः जडान गर्नुपर्छ ।” किनभने रातको समयमा एउटा बत्ती हजारौं ज्यानको सुरक्षा हो ।
ILS — उपकरणको भ्रम
पोखरामा जडित ILS (Instrument Landing System) प्रणाली अन्तर्राष्ट्रिय स्तरकै हो भनिन्छ । तर भौगोलिक अवस्थाले सिग्नल नै बिग्रेको छ । ग्लाइड पाथ ३ नटिकल माइलपछि अव्यवस्थित हुन्छ ।
सिग्नल “Scalloping” हुन्छ, उतार–चढाव गर्छ । कहिले स्थानीय एफएम फ्रिक्वेन्सीले हस्तक्षेप गर्छ, कहिले पहाडले । समितिको निष्कर्ष स्पष्ट छ — “भू–आकृति र डिजाइनकै कारण ILS प्रणाली सीमित मात्र उपयोगी छ।
अन्तर्राष्ट्रिय Category–I ILS का लागि Decision Height २०० फिट हुनुपर्छ, तर पोखरामा ८०० फिट । यसको अर्थ — पाइलटलाई चार गुणा बढी Visibility चाहिन्छ । यस्तो अवस्थामा उपकरण होइन, भाग्यले मात्र उडान सम्भव हुन्छ ।
Missed Approach — मृत्युको मार्ग
Missed Approach मार्ग अनुसार, रन-वे ३० बाट असफल अवतरणपछि जहाजले तुरुन्तै बायाँ मोड्नुपर्छ। बायाँ — ठाडो पहाड, ४ हजार ३ सय फिट सम्म । पाइलट ढिला भए — सीधा Dead–end । समितिको चेतावनी — “यो मार्ग अत्यन्त जोखिमपूर्ण छ।” विकासको नाममा यस्तो जोखिम । जहाँ “सेकेन्ड” नै जीवनको मापदण्ड हो —त्यो प्राविधिक भन्दा पनि नियत नै दोषी हो ।
छोटो धावनमार्ग, ठूला सपना
पोखराको धावनमार्ग केवल २५०० मिटर लामो । मध्यम दूरीका जेट विमानका लागि छोटो । तापक्रम बढ्दा, हावाको दबाब घट्दा, पूर्ण भारमा उड्नै सकिँदैन । समितिको भनाइ —“Runway Length ले Weight Restriction ल्याउँछ ।” उडानको सपना, वास्तविकतामा ठोक्किएको छ।
हस्तान्तरण नभएको विमानस्थल
यो Turn–Key अवधारणा अन्तर्गत बनेको विमानस्थल हो । चीनको ऋण, नेपाल सरकारको स्वीकृति, तर अहिले पनि —निर्माण कम्पनीले औपचारिक रूपमा हस्तान्तरण गरेको प्रमाण छैन । समितिले लेखेको छ —“हस्तान्तरणको लिखत उपलब्ध भएन ।” यसको अर्थ —विमानस्थल तयार, तर कानुनी स्वामित्व अस्पष्ट । तर प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले आफैले हस्ताक्षर गरेर विमानस्थल निर्माण सम्पन्न भएको पत्र यस्तो छ ।
दुर्घटना भयो भने —दोष कसको ?
नेपालको ?
चीनको ?
उत्तर — शून्य ।
मानवीय जोखिम
पोखरा “Category–C Aerodrome” हो। यहाँ उड्ने पाइलटलाई विशेष तालिम चाहिन्छ। नेपालमा त्यस्ता पाइलट गिन्तीका छन् । कमजोर उपकरण, उच्च जोखिम, अनि दबाब — “उडान गर्नैपर्छ।”
अन्तर्राष्ट्रिय नाम, स्थानीय गल्ती
फ्लाइट प्रस्यूडर डिजाइनमा भनिएको छ —“रन-वे ३० बाट जहाज टेकअफ गर्न कठिन, रन-वे १२ बाट ल्याण्डिङ असम्भव।” त्यसको अर्थ —विमानस्थलको दुवै छेउ समस्या–युक्त । नाम “अन्तर्राष्ट्रिय”, तर उपयोग “स्थानीय भन्दा पनि कमजोर ।”
भ्रष्टाचारको केन्द्र
यो सबै त्रुटी केवल प्राविधिक होइन। यसको जरो प्रशासनमा छ, प्रदीप अधिकारी —जसको निगरानीमा निर्माण भयो, जसकै समयमा १८ अर्बको अनियमितता आरोप लाग्यो ।
सार्वजनिक लेखा समितिले निर्देशन दियो —“निलम्बन गर, अनुसन्धान गर।” तर उनी अझै कुर्सीमा छन्। भ्रष्टाचार जब संस्थाको हिस्सा बन्छ, तब “उडान अनुमति पत्र” पनि अपराधको दस्तावेज बन्न पुग्छ।
ग्राउण्ड जिरोको प्रमाण
ग्राउण्ड जिरोले पहिले नै उजागर गरेको थियो —“रन-वे ३० बाट जहाज मोड्दा मृत्युको जोखिम।” अहिले उच्चस्तरीय समितिको प्रतिवेदनले पनि त्यसैलाई पुष्टि गर्यो । सरकारको आँखामा ढुसी लागेको थियो, अब प्रतिवेदनले त्यसैलाई खोलेको छ । भ्रष्टाचारको जरो, प्रणालीको कमजोरी, अनि जनताको करमा बनेको असुरक्षित संरचना —यो केवल समाचार होइन, सिस्टमको शव परीक्षण हो ।
अन्तिम चेतावनी
समितिको अन्तिम सन्देश —“पोखरालाई सुरक्षित बनाउन नयाँ मार्ग, नयाँ प्रविधि, नयाँ सोच आवश्यक छ ।” अन्यथा, यो पनि भैरहवा र निजगढजस्तै अर्को सपना मात्र हुनेछ । जब देशले आकाश हेर्छ, उसले सपना देख्छ । तर जब त्यही आकाश भ्रष्टाचार र असक्षमताले ढाक्छ, तब विकास होइन, विनाश अवतरण गर्छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।