पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ५ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। २८ अर्ब रुपैयाँ चीनसँग ऋण लिएर बनाइएको विमानस्थलबाट वर्षभरिमा एउटा पनि व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएनन्।
यी सब पुराना कुरा हुन्।
ग्राउन्ड जिरो खोजले पाएको नयाँ तथ्य हो— व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरी यो परियोजना सुरु नै गरिएको थिएन। चाइना सीएएमसी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको ठेक्का सम्झौता एवं चिनियाँ कम्पनीले पेमेन्टका लागि पठाएका बिलहरुले करिब १५ अर्ब रुपैयाँ भ्रस्टाचारको पुस्टि गरेका हुन्।
विमानस्थललाई अपांग बनाउने काम सन् २०१६ अप्रिल अर्थात् शिलान्यास मिति अगाडिदेखि नै गरिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको मुख्य कारण यसको रन-वे हो। राष्ट्रिय गौरवको आयोजना, नेपाल-चीन सम्बन्धको कोशेढुंगाजस्ता विशेषण सुन्नमा जेरी जस्तै मीठो छन्। र, गुलिया शब्द प्रयोग गर्दै गरिएको अनियमितता पनि जेरी झैँ घुमाएर गरिएको छ।
किन हुन सकेन अन्तर्राष्ट्रिय उडान ?
एशियाली विकास बैंकको सफ्ट लोनमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भन्ने विषय सन् २००९ मै उठेको थियो। तर प्रारम्भिक अध्ययन पछि सम्भावित प्रतिफल, ऋण तिर्ने क्षमता जस्ता नकारात्मक इन्डिकेटर बढी देखिएपछि एडीबी पछि हट्यो। चीनले यस्ता कुनै अध्ययन र इन्डिकेटरको विश्लेषणबिना ऋण प्रवाह गरेको हो, नेपालले पनि कुनै अध्ययन बिना राजनीतिक निर्णयमा परियोजना अघि बढाएको हो। अहिले पोखरा विमानस्थलबाट बुद्ध एयरका ७२ सिटे एटिआर जहाज भारतीय सहरमा जान सक्छन्। दक्षिणी छिमेकी पोखरामा भएको चिनियाँ लगानीप्रति प्रशन्न छैन, उसँग कुटनीतिक सम्वाद गरेर पहिलै व्यवसायिक उडानको बाटो खोलिएन। अब अहिले बुद्ध एयरका एटिआर जहाज व्यवसायिक उडान गर्दै पोखराबाट नेपाल बाहिर कहाँ जाने?
बिडम्बना, जनताको टाउकोमा ऋण बोकाएर बनाएको संरचनाको सामाजिक उपयोगिता, सम्भावित प्रतिफल, ऋण तिर्ने आर्थिक आधार, ऋण तिर्न सक्ने क्षमता कुनै पक्षको पूर्वअध्ययन विश्लेषण नगरी योजना अघि बढाइयो। ऋण लिँदा नेपालले आँखा चिम्लिएका यी विषय सामान्य छैनन्।
अब व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको तथ्य बुझ्न एउटा उदाहरण हेरौँ। मानौँ, टर्किस एयरलाइन्सले पोखरादेखि इस्तानबुलसम्मको अन्तर्राष्ट्रिय उडान थाल्यो। उसले एयरबस ३२० वा बोइङ ७३७ न्यारोबडी जहाज प्रयोग गर्न थाल्यो। ती जहाजहरूको पूर्ण क्षमता ७७ टन तौल लिएर उड्ने हो। पोखरा विमानस्थलमा बोइङ ७३७ वा एयरबस ३२० सेरिजका न्यारोबडी जहाजले ७ देखि १० टन तौल घटाएर मात्र उडान गर्नुपर्ने हुन्छ, पूर्ण क्षमता अर्थात् ७७ टन नै तौल लिएर उडान—अवतरण गर्न मिल्दैन। (विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्)
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।