
Ground Zero
November 7, 2026

रास्वपा गोरखा–काठमाडौँ सम्पर्क विभागद्वारा शनिबार काठमाडौँको नयाँबजारमा आयोजित कार्यक्रमबाट गृहमन्त्री सुधन गुरुङ कार्यक्रमका बीचमै उठेर बाहिरिनुभएको छ। वक्ताको सङ्ख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यव्यस्तताको कारण देखाउँदै कार्यक्रम नसकिँदै हिँड्नुभएको हो।
उहाँ बीचमै बाहिरिएपछि आयोजक केही समय अलमलमा परेका थिए। कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासबारे प्रतिक्रिया दिनुभयो।
उहाँले भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। आगामी दिनमा हिमाली तथा दुर्गम क्षेत्रमा बाटो निर्माण र बजेट व्यवस्थापनमा विशेष ध्यान दिइने उहाँको भनाइ थियो। देशका सबै क्षेत्रका नागरिकका समस्यालाई वर्तमान सरकारले केन्द्रमा राखेर काम गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।