
Ground Zero
November 6, 2026

डलर साटिदिने भन्दै ठगी तथा लुटपाटमा संलग्न सुजन तामाङलाई प्रहरीले गोकर्णेश्वरबाट गोली हानेर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तामाङविरुद्ध विगतमा आठपटकसम्म कानूनी कारवाही भइसकेको जानकारी दिएको छ।
बिहीबार साँझ गोकर्णेश्वर–३ गाम्चामा पक्राउ गर्न खोज्दा तामाङले प्रहरीमाथि चक्कु प्रहार गर्दा एक जना प्रहरी घाइते भएका थिए। चेतावनीस्वरूप हवाई फायर गर्दासमेत नरोकिएपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको परिसर प्रमुख एसएसपी दिलिप घिमिरेले बताए। तामाङ डलर सटहीको प्रलोभन देखाई लुटपाट गरेर फरार हुने गर्दथे।
प्रहरीले निजको साथबाट ठगीमा प्रयोग हुने नेपाली रुपैयाँका दुई बण्डल, अमेरिकन डलर जस्तै बनाई काटिएका सेतो कागजका बण्डल (जसमा माथि–तल ५/५ डलर राखिएको) र १ केजी नक्कली सुनको ढिक्का बरामद गरेको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।