
Ground Zero
November 3, 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जना विरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विराटनगरस्थित ‘रिजाल क्यानिङ एन्ड कम्पनी प्रालि’का नाममा रहेको हदबन्दी छुटको सरकारी तथा सार्वजनिक जग्गा गैरकानूनी रूपमा सट्टापट्टा र बिक्री वितरण गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार बदनियतपूर्वक जग्गा बिक्री तथा सट्टापट्टा गर्न छुट दिएर भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरिएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कुल रु ७३ करोड ४९ लाख ५६ हजार बिगो कायम गरी तत्कालीन प्रधानमन्त्री नेपालसहित प्रतिवादीहरूबाट सो रकम असुल गर्न मागदाबी गरिएको छ। मुद्दामा तत्कालीन मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, तत्कालीन सचिव छविराज पन्त, तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे लगायत अन्य अधिकारीहरूलाई समेत प्रतिवादी बनाइएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।