
Ground Zero
November 2, 2026

नेपाली कांग्रेस संसदीय दलको बैठकले समाचार कक्षबाटै विनापुर्जी वा अदालतको अनुमति पत्रकार पक्राउ गरिएको घटना लगायतका विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ।
सोमबार सिंहदरबारमा बसेको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिँदै, सरकारी कदमले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो। विनापुर्जी पत्रकार पक्राउ गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र स्वेच्छाचारी कदम भएको उहाँको भनाइ छ।
बैठकले निर्वाचनको जनआदेश अनुसार संविधान र कानुनको दायरामा रहेर शासन सञ्चालन हुनुपर्ने तथा न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राखिनुपर्नेमा जोड दिएको छ। यी विषयलाई संसद्मार्फत निष्कर्षमा पुर्याउन र उच्चस्तरीय संसदीय छानबिन समिति गठनका लागि विपक्षी दलहरूसँग थप छलफल गरी आवश्यक कदम चालिने आङदेम्बेले बताउनुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।