
Ground Zero
October 23, 2026

रामेछापको मन्थली नगरपालिकामा १ करोड १३ लाख ६४ हजार ७२ रुपैयाँको चरम अनियमितता भएको छ भने कुनै प्रमाण तथा कागजात नै पेस नगरी ७६ लाख ५६ हजार ५ सय ४५ रुपैयाँ स्वाहा पारिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको कुल अद्यावधिक बेरुजु २५ करोड ७ लाख ५५ हजार ६ सय ३० रुपैयाँ पुगेको छ।
वडा नं २ मा सांस्कृतिक सङ्ग्रहालय निर्माणको नाममा विनियोजन गरिएको बजेटबाट चामल, तेल र प्याज खरिदका बिल भरपाई मिलाएर खाना-खाजामा २ लाख रुपैयाँ उडाइएको छ।
समयमै बिजुलीको महसुल नबुझाउँदा नगरपालिकाले जरिवानाबापत मात्रै १ लाख ५१ हजार रुपैयाँभन्दा बढी थप व्ययभार व्यहोरेको छ। त्यस्तै, रोजगार रणनीति निर्माणका लागि कन्सल्टेन्सीलाई सम्झौता बमोजिम कामै नगरी ९९ हजार रुपैयाँभन्दा बढी भुक्तानी दिइएको भेटिएको छ।
विद्यार्थी संख्या न्यूनतम मापदण्डभन्दा कम रहेका ७ वटा विद्यालयका बालविकास केन्द्रहरूमा नियमविपरीत बढी शिक्षक राखी १६ लाख ३८ हजार रुपैयाँ बाँडिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ब्यारेक तथा मेस पछाडिको स्लोप निर्माणका नाममा बजेटमै नभएको २० लाख ७ हजार रुपैयाँभन्दा बढी गैरकानुनी खर्च गरिएको छ।
उपप्रमुख संयोजक रहेको अनुगमन समितिको अनुगमन बिना, स्पष्ट लागत अनुमान र प्राविधिक मूल्यांकन बेगर मेशिनको लगसिटका आधारमा सोझै ४२ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेर खरिद ऐनको धज्जी उडाइएको छ।
नियमविपरीत उपभोक्ता समितिमार्फत १६ वटा पानी ट्याङ्की खरिद गरी १ लाख २० हजार रुपैयाँ खर्च लेखिएको छ भने स्वास्थ्य केन्द्रको प्रशासनिक खर्च स्थायी कर्मचारीको तलब शीर्षकबाट ६ लाख ९६ हजार रुपैयाँ रकमान्तर गरिएको छ।
जनताको करबाट उठेको बजेटमाथि भएको यो घोर लापरवाही र कानुनी बेथितिको जवाफदेही मन्थली नगरपालिकाले कहिले दिने ?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।