Skip to main content
शनिबार, ३१ असोज २०८३

हेटौंडा उपमहानगरपालिकामा ४ करोड ८८ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 17, 2026


मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ४ करोड ८८ लाख ८४ हजार ९९ रुपैयाँको चरम अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेस नगरी ८५ लाख ७५ हजार ७ सय २४ रुपैयाँ स्वाहा पारिएको छ! महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुसहित हेटौँडा उपमहानगरको कुल अद्यावधिक बेरुजु ५५ करोड ८० लाख ७४ हजार ३ सय ३० रुपैयाँ पुगेको छ।

प्रदेश कानुन विपरीत निर्देशिका बनाएर जनप्रतिनिधि र अधिकारीहरूलाई चियापान तथा अतिथि सत्कारका नाममा ५९ लाख ४० हजार रुपैयाँ बाँडिएको छ। मन्त्रालयको स्वीकृति नै नलिई भारत र क्यानडा भ्रमणको खर्च भुक्तानी गरिएको छ भने आफ्नै सभाहल छाडेर सौराहाका महँगा रिसोर्टमा सरोकारै नभएका मान्छे र बच्चा हेरालु समेत लगेर तालिमका नाममा ४ लाख ५७ हजार रुपैयाँ उडाइएको छ।

आफ्नै बजेट हुने अन्य सरकारी निकाय र प्रहरीलाई गैरकानुनी रूपमा ७४ लाख ३२ हजार रुपैयाँभन्दा बढी बाँडिएको छ। नियमविपरीत आफ्नै नियमित कामको अनुगमन गरेको जनाई जनप्रतिनिधि र कर्मचारीलाई ओभरल्यापिङ गरेर लाखौँ रुपैयाँ अनुगमन भत्ता वितरण गरिएको छ।

बोलपत्र आह्वान गरी प्रतिस्पर्धाबाट ठेक्का लगाउनुपर्ने वडा कार्यालय तला थप, स्वास्थ्य केन्द्र र विद्यालय भवन निर्माणका करोडौँका काम उपभोक्ता समितिमार्फत गराएर खरिद ऐनको धज्जी उडाइएको छ। नाफामूलक सहकारीलाई कम्प्युटर-प्रिन्टर बाँडिएको छ भने १३ नं वडामा ४ लाख ९० हजार रुपैयाँ खर्चेर अनुत्पादक भ्यु टावर बनाइएको छ।

जनताले तिरेको कर र विकास बजेटमाथि भएको यो घोर लापरवाही र आर्थिक अराजकताको जवाफ हेटौँडा उपमहानगरपालिकाले कहिले दिने?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।