Skip to main content
आइतबार, ०१ कात्तिक २०८३

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १ करोड ६७ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 18, 2026


मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १ करोड ६७ लाख ७ हजार ५ सय १७ रुपैयाँको चरम अनियमितता भएको छ भने आवश्यक प्रमाण र कागजात नै पेस नगरी १ करोड १ लाख ८८ हजार २ सय १६ रुपैयाँ स्वाहा पारिएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुसहित इन्द्रसरोवरको कुल अद्यावधिक बेरुजु १२ करोड ९० लाख ३८ हजार ८ सय ९७ रुपैयाँ पुगेको छ।

संगठन र व्यवस्थापन सर्वेक्षणको स्वीकृत दरबन्दीभन्दा बढी दरबन्दी बाहिरका ८ जना अनावश्यक कर्मचारी भर्ना गरेर ३४ लाख २१ हजार रुपैयाँभन्दा बढी उडाइएको छ। गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कार्यपालिकाको स्वीकृति र भ्रमण अभिलेखबिनै १ लाख ४६ हजार रुपैयाँभन्दा बढी भ्रमण भत्ता बुझेका छन्। त्यस्तै, नियमित कामकै अनुगमन गरेको भन्दै अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले नियमविपरीत ४ लाख ४६ हजार रुपैयाँ अनुगमन भत्ता बाँडेका छन्।

कुनै वस्तुगत सूचकांक र मूल्यांकनबिनै ९२ जना कर्मचारीलाई ३४ लाख ९३ हजार रुपैयाँभन्दा बढी प्रोत्साहन भत्ता बाँडिएको छ। खरिद ऐन विपरीत ब्राण्ड नै तोकेर ६ लाख १४ हजारको डेल ल्यापटप खरिद गरिएको छ भने बजेटमै नभएको सशस्त्र प्रहरी बलको गणका लागि फर्निचर किनेर १ लाख ८३ हजार रुपैयाँ भुक्तानी दिइएको छ।

मापदण्ड विपरीत २५ जनाभन्दा कम विद्यार्थी भएका विद्यालयमा २ जना सहजकर्ता राखी २४ लाख ३० हजार रुपैयाँ खर्च लेखिएको छ। उता सानुटार-ठूल्टार सडक, पुरण्डि खानेपानी र सुलीकोट बस्ती बचाउजस्ता आधा दर्जन योजनाको ३५ लाख ९९ हजार रुपैयाँ भुक्तानी भइसक्दा पनि निर्माण कार्य अलपत्र छ।

जनताको करबाट उठेको बजेटमाथि भएको यो घोर लापरवाही र बजेट दुरुपयोगको हिसाब इन्द्रसरोवर गाउँपालिकाले कहिले दिने ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।