Skip to main content
बिहिबार, ०५ कात्तिक २०८३

रामेछापको खाँडादेवी गाउँपालिकामा १ करोड ७५ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 22, 2026


रामेछापको खाँडादेवी गाउँपालिकामा १ करोड ७५ लाख ९ सय १९ रुपैयाँको अनियमितता भएको छ भने कुनै प्रमाण तथा कागजात नै पेस नगरी १ करोड २६ लाख ९ सय ६० रुपैयाँ झ्वाम पारिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकाको कुल अद्यावधिक बेरुजु ५९ करोड २३ लाख ८४ हजार ३ सय ५७ रुपैयाँ पुगेको छ।

कानुन विपरीत वडा नं ३ मा दरबन्दी नै नभएको पदमा ज्यालादारी कर्मचारी राखेर ३ लाख १५ हजार रुपैयाँ बाँडिएको छ। यस्तै, समयमै बिजुलीको महसुल नबुझाउँदा जरिवानाबापत मात्रै ६ लाख ५३ हजार रुपैयाँभन्दा बढी थप व्ययभार पारिएको छ।

निर्देशिकाले तोकेको सीमाभन्दा बढी अध्यक्ष र उपाध्यक्षको क्वार्टर व्यवस्थापन, खाना तथा खाजाको नाममा रकम भुक्तानी गरिएको छ। भौतिक निर्माणको काममा चालु शीर्षकबाट २२ लाख २० हजार रुपैयाँभन्दा बढी फरक शीर्षकमा खर्च गरिएको छ।

सार्वजनिक खरिद नियमावली विपरीत उपभोक्ता समितिमार्फत पाल, पाइप र पञ्चेबाजा खरिद गरी १० लाख ३० हजार रुपैयाँ भुक्तानी दिइएको छ। सडक निर्माणमा उपभोक्ता समितिले कामै नगरी सब-कन्ट्र्याक्टर (ठेकेदार) बाट काम गराएर ४ लाख ३४ हजार रुपैयाँ भुक्तानी लिइएको भेटिएको छ।

प्रतिस्पर्धात्मक ठेक्काबाट गराउनुपर्ने ८८ लाख ९४ हजार रुपैयाँ बराबरका वडा कार्यालय र स्वास्थ्य चौकीका भवन निर्माणका काम समेत नियमविपरीत उपभोक्ता समितिलाई सुम्पिएको छ। विद्यार्थी संख्या न्यून रहेका बालविकास केन्द्रहरूमा नियमविपरीत २-२ जना सहजकर्ता राखी ३१ लाख ८९ हजार रुपैयाँ बाँडिएको छ भने मातृ तथा नवजात शिशु अनुगमनमा फर्जी कागजात खडा गरी १ लाख ९६ हजार रुपैयाँ अनियमित तरिकाले खर्च लेखिएको छ।

जनताको करबाट उठेको करोडौँ रकममाथि भएको यो मनपरी र कानुनी बेथितिको जवाफदेही खाँडादेवी गाउँपालिकाले कहिले दिने?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।