
Ground Zero
October 8, 2026

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नियम-कानुन र वित्तीय अनुशासनको धज्जी उडाउँदै २ करोड ७५ लाख ४३ हजार ८३२ रुपैयाँको व्यापक अनियमितता भएको छ भने आवश्यक प्रमाण र कागजात नै पेश नगरी २३ लाख ६४ हजार ३३८ रुपैयाँ मनपरी खर्च गरेर राज्य कोषको दोहन गरिएको छ ।
स्थानीय तहमा सुशासन र मितव्ययिताको नारा घन्किइरहँदा भक्तपुरको सूर्यविनायक नगरपालिकामा भने गैरकानुनी खर्च र बेथितिको सीमा नाघिएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार यसवर्ष थपिएको ३ करोड ७३ लाख ५९ हजारसहित पालिकाको कुल अद्यावधिक बेरुजु २६ करोड ६१ लाख ५१ हजार रुपैयाँ पुगेको छ।
नयाँ प्रशासकीय भवन उद्घाटनका नाममा ३० लाख बजेट विनियोजन गरी खरिद ऐन छल्न टुक्रा-टुक्रा पारेर २६ लाख ७१ हजारभन्दा बढी रकम सोझै भुक्तानी गरियो।
विज्ञ र आमन्त्रित सदस्यको तोकिएको सीमा मिचेर समिति बैठकहरूमा २ लाख ८० हजार र कानुनमै व्यवस्था नभएको इजलास बैठक भत्ताबापत ३ लाख ५५ हजार रुपैयाँ मनपरी बाँडिएको छ।
इन्टरनेटमा उपलव्ध ८५ वटा समाचारको स्क्रिनसर्ट लिन फ्लोरिडा मिडियालाई ४ लाख ९३ हजार थमाइयो, जस अनुसार प्रति स्क्रिनसर्टको लागत ५ हजार ८ सय रुपैयाँभन्दा बढी पर्न गयो। आन्तरिक कर्मचारीबाटै हुने नियमित कामका लागि थप १४ लाख १७ हजार परामर्श सेवाका नाममा उडाइयो।
सडक ढलान, ग्याबिन जाली र पहिरो पन्छाउने काममा सडक विभागको साटो भवन निर्माणको महँगो नम्र्स प्रयोग गरी १ करोड ३२ लाख ६३ हजार तथा पहिरो सफाइमा १७ लाख ४ हजार रुपैयाँभन्दा बढी अतिरिक्त भुक्तानी गरियो।
१ करोडभन्दा बढी लागतका डोलेश्वर मन्दिर र पदमार्ग निर्माण खुला टेन्डर नगरी उपभोक्ता समितिमार्फत गराइयो।
२५ जनाभन्दा कम विद्यार्थी भएका विद्यालयमा तोकिएभन्दा बढी बालविकास सहजकर्ता राखेर २० लाख ५६ हजारको अतिरिक्त व्ययभार पारिएको छ।
यस्तै, समयमै विद्युत महसुल नबुझाएर १ लाख ९३ हजार जरिवाना तिर्नुका साथै ऐन विपरीत अन्य निकायलाई ९ लाख ५८ हजारभन्दा बढी रकम बाँडिएको छ।
नियम र कानुनको धज्जी उडाउँदै गरिएको यो मनपरीले सुशासनको गम्भीर उपहास गरेको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।