Skip to main content
बुधबार, २१ असोज २०८३

बागलुङको जैमिनी नगरपालिकामा १ करोड ११ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 7, 2026


गण्डकी प्रदेश अन्तर्गत बागलुङको जैमिनी नगरपालिकामा नियम, कानुन र वित्तीय अनुशासनको धज्जी उडाउँदै १ करोड ११ लाख २७ हजार ३९९ रुपैयाँको व्यापक अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेश नगरी १ करोड २६ लाख २ हजार ७९४ रुपैयाँ मनपरी खर्च गरेर राज्य कोषको दोहन गरिएको छ !
स्थानीय सरकारमा सुशासन र वित्तीय अनुशासनको नारा घन्किइरहँदा बागलुङको जैमिनी नगरपालिकामा भने बेथिति र गैरकानुनी खर्चको सीमा नाघिएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार यसवर्षको थपिएसँगै पालिकाको कुल अद्यावधिक बेरुजु १३ करोड ८० लाख ४५ हजार रुपैयाँ पुगेको छ।
मात्र ७ वर्षका लागि भाडामा लिइएको व्यक्तिको जग्गामा ५ वर्ष मात्र उपयोग गर्न पाउने गरी १६ लाख ७१ हजारभन्दा बढी खर्च गरेर दीर्घकालीन ट्रस र आरसीसी सभाहल निर्माण गरियो, जुन पालिकाको अनुत्पादक खर्च ठहरिएको छ।
त्यस्तै, २५ वटा उपभोक्ता समितिका योजनाहरूमा शतप्रतिशत हेभी इक्विपमेन्ट प्रयोग गरी गैर-बैंकिङ माध्यमबाट भाडा भुक्तानी गरेर ५९ लाख ४१ हजार रुपैयाँ नियमविपरीत निकासा गरियो।
ओ एण्ड एम सर्भे नगरी र स्थायी दरबन्दी नै नभएका स्वास्थ्य सेवाका अनमी, अहेव र कार्यालय सहयोगी लगायतका पदमा मनपरी करारमा राखी २५ लाख ४० हजारभन्दा बढी बजेट उडाइयो।
यति मात्र होइन, पालिकाका कर्मचारी नै नरहेका विवादका सहजकर्ता मेलमिलापकर्ताहरूलाई बिना कुनै कार्यविधि र कानुनी आधार सञ्चार सुविधाका नाममा ७४ हजारभन्दा बढी रुपैयाँ बाँडियो।
स्वास्थ्य संस्थाका लागि प्रयोग हुने प्रणालीको नवीकरण र सर्भर सुरक्षाका नाममा बिना कुनै प्रगति प्रतिवेदन ७३ हजारभन्दा बढी खर्च लेखियो।
किसानलाई तरकारी बीउ वितरण गर्दा गुणस्तर र परिमाण नै नखुलाई ५ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरिनुका साथै प्रत्यक्ष उपभोक्ता सहभागी नहुने वडा कार्यालयको घडेरी निर्माणमा समेत उपभोक्ता समिति बनाएर २ लाख २७ हजार सुम्पियो।
सार्वजनिक खरिद ऐन र वित्तीय उत्तरदायित्वको धज्जी उडाउँदै गरिएको यो मनपरीले जैमिनी नगरपालिकामा सुशासनको गम्भीर धज्जी उडाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।