Skip to main content
शुक्रबार, १६ असोज २०८३

छिपहरमाई गाउँपालिकामा २ करोड ६५ लाखको अनियमितता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 2, 2026


पर्साको छिपहरमाई गाउँपालिकामा २ करोड ६५ लाख ९५ हजार ४ सय २६ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा आवश्यक कागजात नै पेस नगरी २ करोड ८७ लाख ४२ हजार ७८ रुपैयाँ खर्च गरिएको छ। महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको ३४ करोड ५२ लाख ७८ हजार बेरुजुमा यस वर्ष ५ करोड ७३ लाख रुपैयाँ थपिएपछि कुल अद्यावधिक बेरुजु ४० करोड २५ लाख ७८ हजार २ सय ७८ रुपैयाँ पुगेको छ।

९१ करोड ७८ लाख ५५ हजार रुपैयाँको कुल आय–व्यय लेखापरीक्षण गर्दा नियमविपरीत खर्च र बेथिति चौतर्फी देखिएको छ। सौर्य सिँचाइ पम्पिङ प्रणाली जडानमा ठेक्का सम्झौता अनुसारको सामान परिवर्तन गर्दा नियम अनुसार भेरिएसन आदेश स्वीकृत नगरी १ करोड ७ लाख ७७ हजार रुपैयाँ भुक्तानी दिइएको छ।

त्यस्तै, पुँजीगत बजेटबाट प्रशासनिक खर्च गर्ने र बजेट शीर्षक परिवर्तन गरी ३३ लाख ३८ हजार रुपैयाँभन्दा बढी खर्च गरेर बजेट अनुशासनको धज्जी उडाइएको छ। कानुनले रोक लगाएका कम्प्युटर अपरेटर र सहायक पदमा करार कर्मचारी राखेर ३५ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक बाँडिएको छ।

स्वास्थ्य तर्फको सशर्त अनुदान र शिक्षकको तलब शीर्षकबाट कार्यालय सामाग्री, औषधी खरिद र स्वास्थ्य कर्मचारीको तलबमा ३५ लाख रुपैयाँभन्दा बढी फरक शीर्षकमा खर्च गरिएको छ। बिनाप्रतिवेदन र बजेट विनियोजन नै नगरी भ्रमण खर्चका नाममा ५ लाख पेस्की फर्छ्यौट गरिएको छ।

शैक्षिक पहुँच कार्यक्रममा ११ लाख ९३ हजारको परामर्श सेवा बिनाप्रतिस्पर्धा सोझै खरिद गरिएको छ भने जनप्रतिनिधिको बेरुजु रकम सरकारी पुँजीगत बजेटबाट कट्टा गरी दाखिला गर्नेसम्मको मनपरी पाइएको छ। नागरिकको करबाट उठेको बजेटमाथिको यो चरम बेथितिले स्थानीय तहमा वित्तीय अनुशासन र सुशासनको गम्भीर धज्जी उडाएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।